एमालेको प्राथमिकता सत्ता होइन, मुलुकको समृद्धि : महासचिव पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीको प्राथमिकता सत्ता नभई मुलुकको समृद्धि भएको बताउनुभएको छ ।

एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत उपत्यका विशेष प्रदेश कमिटीको समीक्षा बैठकको समापन कार्यक्रममा उहाँले अभियानका क्रममा कतिपय कार्यकर्ताबाट सत्ता गठबन्धनमा हेरफेर ल्याउन सुझाव आए पनि पार्टीका ध्यान त्यतातिर भई पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउनतिर भएको स्पष्ट गर्नुभयो । “कुनै पनि पार्टीको बहुमत नपुग्ने वर्तमान ‘हङ’ संसद्बाट जनतालाई साँचो अर्थमा सेवा दिन सकिँदैन । 

“वर्तमान सत्ता गठबन्धन आफ्नै कारणले असफल भएमा संसदीय भूमिकाअनुसार अर्को सरकार दिनुपर्ने अवस्थामा बाहेक एमालेको प्राथमिकता होइन । मुलुकको समृद्धि र विकास हो”, उहाँले भन्नुभयो । उहाँले नेकपा कालमा ध्वस्त भएको पार्टीको साङ्गठनिक र वैचारिक लय र विरासतलाई एक हदसम्म उक्त अभियानले फर्काउन  सफल भएको जनाउनुभयो ।

पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमालेमा आन्तरिक द्वन्द्व, पदलोलुपता, अराजकता र अनुशासनहीनताका कारण पछिल्ला निर्वाचनमा कतिपय स्थानमा पार्टीका कुल पार्टी सदस्य सङ्ख्याभन्दा कम मत खसेका जस्ता घटनाका कारण नेता र कार्यकर्तालाई जनताको भुईँ तहमा सक्रिय तुल्याउन अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले पार्टीमा ९० प्रतिशत नेता कार्यकर्ता पेटी बुर्जुवा हुन पुगेकामा चिन्ता व्यक्त गर्दै मार्क्सवादको मार्गदर्शनअनुसार श्रमजीवी वर्गलाई मूल आधार बनाउनुपर्नेमा जोड दिनुभयो ।

विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेम पराजुलीले मातहतका चार विशेष जिल्ला कमिटीको समीक्षाका आधारमा प्रतिवेदन तयार गरी पार्टीको आउँदो केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने जानकारी दिनुभयो । 

एमालेको केन्द्रीय कमिटीको बैठक यही वैशाख २९ गते झापामा बस्दै छ ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ६ : ५९ बजे