साफ यू–१७ च्याम्पियनसिप आजदेखि

रास्वपाको उदयले कांग्रेसमा उठेको प्रश्न

उपनिर्वाचन सकियो । उपनिर्वाचन सकिए पनि त्यसले छाडेका कम्पनहरूले छाडेको छैन । यसले अर्थात् उपनिर्वाचनले छाडेका कम्पनहरू निकै लामो समयसम्म नेपाली राजनीतिमा  रहिनै रहने छ । अहिले पनि देशका चिया पसलहरू देखी भट्टीपसलहरु सम्म उपनिर्वाचनको चर्चा सेलाएको छैन । अब पनि यस्तै अवस्था रहने हो भने अर्को निर्वाचनमा पुराना भनिएका पार्टीहरूलाई  रास्वपाले घण्टी बजाउँछ भन्नेहरूको कमी छैन । किन स्थापित राजनीतिक दलहरूले यो निर्वाचनमा हावा खाए भन्ने प्रश्नको उत्तर अहिले राजनीतिक वृत्तमा व्यापक  खोजी भइराखेको छ । 

जबसम्म पुराना भनिएका राजनीतिक दलहरूले यो प्रश्न उत्तरको खोजी गरेर अघि बढ्दैन, तब सम्म उनीहरूले आफ्नो पार्टीको जीवनलाई अघि बढाउन सक्दैनन् । खास गरी यो उपनिर्वाचनमा कांग्रेसका दुई महामन्त्री नराम्रोसँग घानमा परे।   निर्वाचनमा कांग्रेसका दुई महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा चितवन र तनहुँको कमान्डर बनेका थिए । उनीहरूले आफू कमान्डर बनेर गएका जिल्लाहरूमा निर्वाचन जिताउन जे भूमिका खेले त्यसमा  सफल हुन सकेनन् । एक प्रकारले भन्ने हो भने उनीहरूको योग्यता  र क्षमता माथि नै प्रश्न चिन्ह उठ्यो । निर्वाचनको रेसमा उनीहरू कमजोर साबित भए । गतिहीन देखिए ।  कांग्रेसका आशा लाग्दा भनिएको यो नेतृत्व पंक्ति चितवन र तनहुँमा नराम्रोसँग थच्चियो । सम्भवत,  गगन र विश्वप्रकाशले यति फराकिलो अन्तरको हारको कल्पना समेत गरेका थिएनन् होला । 

रविको उदय र गगन –विश्वप्रकाशको हारले कांग्रेसलाई गम्भीर धक्का दिएको छ ।  भलै, यसलाई कांग्रेसले कसरी लिन्छ, त्यो यसको कुरा हो । तर, रास्वपाको यो उदयले कांग्रेसलाई भने नराम्रो झड्का दिएको छ ।  यथास्थितिमामा नै कांग्रेस लर–लर गर्दै हिँड्ने हो भने कांग्रेसको भविष्य छैन भन्ने स्पष्ट सङ्केत देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवाकै कार्यशैली पच्छ्याएकै कारण कांग्रेसको यो अवस्था आएको हो भन्नेहरूको कांग्रेसमा कमी छैन । तर,पनि देउवाको यो कार्यशैलीलाई सच्याउन वा कांग्रेसको युवा नेतृत्वले सकिराखेको छैन । पार्टीको महामन्त्रीमा युवा नेतृत्व आए पनि कांग्रेस अहिले पनि पुरानै ढर्रामा चलिराखेको छ । कांग्रेस समयानुकूल बन्न सकिराखेको छैन भनेर स्वयं युवा पुस्ताका नेताहरूले नै भनिराखेका छन् । तर, कांग्रेसको सिङ्गो सगठानात्मक संरचनालाई समयानुकूल परिमार्जित गर्दै हिँडाउने कुरामा अहिले सम्म पनि कांग्रेसले ठोस कदम चाल्न सकिराखेको छैन । देशकै पहिलो र पुरानो लोकतान्त्रिक भनिएको पार्टी आज एक्लै खडा हन नसक्ने अवस्थामा पुगेको छ । कुनै अर्को पार्टीको वैशाखी बिना हिँड्नै नसक्ने अवस्थामा पुगेको छ । भलै, कांग्रेस पार्टी देशमा अहिले पनि सबै भन्दा ठुलो पार्टीको रूपमा देखिएको छ । तर, पनि मनोवैज्ञानिक रूपमा आफू देशको पहिलो पार्टी हो भन्ने अवस्थामा काङ्ग्रेस कुनै नेता –कार्यकर्ताहरु छैनन् ।

 कांग्रेसले गठबन्धनको संस्कृति अपनाएकै कारण कांग्रेस प्रति उसकै मतदातामा मोहभङ हुँदै गएको छ । विचार र सिद्धान्त विपरीत शक्तिसँग गठ जोड गर्दै आएका कारण पनि लोकतन्त्रमा रुचि राख्ने पछिल्लो पुस्ताले कांग्रेसलाई छोड्दै आएको देखिन्छ ।  चितवन र तनहुँका निर्वाचनका परिणामहरूले यही देखाएको छ । जसरी पनि सत्तामा पुग्नु पर्ने कांग्रेस नेतृत्वका कारण पछिल्लो समय खास गरी  युवा समूहमा कांग्रेस पार्टी प्रतिको आकर्षण घट्दै गएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ५ : १३ बजे