चार महिनादेखि नेतृत्व विहीन  नास्ट, उपकुलपति नहुँदा सचिवकाे मनोमानी

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) चार महिनादेखि नेतृत्वविहीन बन्न पुगेको छ। गत पुसमा डा सुनिलबाबु श्रेष्ठको कार्यकाल सकिएपछि नास्टमा उपकुलपति रिक्त छ।
विज्ञान तथा प्रविधिको क्षेत्रमा मुलुककै ठुलो मानिने नास्टमा लामोसमय नेतृत्वविहिन बन्न पुगेसँगै उपकुलपति चाँडो नियुक्त गरियोस् भनेर अनुसन्धानकर्ताहरूको दौडधुप चलिरहेको छ।  

बिहीबार नेपाल राष्ट्रिय कर्मचारी सँगठन र नास्ट स्वतन्त्र युनियनले संयुक्त रूपमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री माननीय अशोक कुमार राईलाई भेटी चाँडो उपकुलपति सिफारिस गरी नास्टको बेथिति अन्तगर्न आग्रह गरेका हुन् । युनिएनका अध्यक्ष दिनबन्धु पराजुलीले गतिशील उपकुलपति नियुक्ति गरी नास्टलाई माथि उकास्न मन्त्रीलाई आग्रह गर्नुभयो।अघिल्ला दुई उपकुलपति कर्मचारी भन्दा माथि उठ्न नसकेकोले नास्टको यो अवस्था आएको उहाँले बताउनु भयो। स‌गठनका अध्यक्ष होम बहादुर खनालले ज्येष्ठ ७ गते बाट सदस्य सचिवको पनि अबधि सकिने भन्दै यस्तो अवस्था आए नास्टको सम्पूर्ण काम ठप्प हुने मन्त्री राईलाई जानकारी दिनभुयो ।  

आफूहरूले नास्टलाई राम्रो गराउन खोज्दा बेथिति रोक्न खोज्दा व्यवस्थापनबाट उल्टै असहयोग भएको खनालले मन्त्री समक्ष गुनासो गर्नुभयो । उहाँले नास्टमा चलिरहेको बेथिति रोक्न मन्त्रीलाई आग्रह गर्र्दै आफूहरूले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

यता प्रशासनले कर्मचारी संगठन र युनियन डेलिगेसन गएको पत्तो पाएर हतार हतारमा मन्त्रीलाई सम्बोधन गरी उपकुलपति रिक्त रहेको भनी पत्राचार गरेको  पाइएको छ। जुन काम सचिव डा महेश अधिकारीले चार महिना अघि गर्नु पर्ने थियो। उपकुलपति नहुँदा मनोमानी गर्न पाइने हुँदा पत्राचार गर्न ढिला गरिएको एक कर्मचारीले बताउनु भयो। मन्त्री राईले नास्टको चासो राखी आउनुभएकोमा कर्मचारी संगठनलाई धन्यवाद दिनु भयो। आफूले विज्ञान सचिवलाई सर्च कमिटी बनाउन निर्देशन दिएको र सचिव आउने बित्तिकै यो काम नियमावली अनुसार अघि बढाउने जानकारी दिनु भयो।  

के छ नास्ट नियमावलीमा ? 
उपकुलपतिको नियुक्ति प्रधानमन्त्रीले गर्ने व्यवस्था छ। यसका लागि कुलपति (प्रधानमन्त्री)ले सहकुलपतिको अध्यक्षतामा दुई जना प्राज्ञ सदस्यहरू रहेको एक समिति बनाउने छ ।  उक्त समितिले सिफारिस गरेको व्यक्तिहरूमध्येबाट उपकुलपति चयन हुन्छन्। नास्टको उपकुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षा मन्त्री रहने व्यवस्था छ। नास्टको सर्च कमिटी सिफारिस गर्दा विज्ञान सचिवको कुनै भूमिका नरहने र यो मन्त्रीको कूटनीतिक जबाफ मात्र रहेको एक प्राज्ञले बताउनु भयो। राजनीतिक भागबन्डा मिलेको खण्डमा दुई दिनमा उपकुलपति नियुक्त हुने उहाँले बताउनु भयो। सत्तारुढ दल माओवादी र जसपाको खिचातानीको कारणले नास्टलाई क्षति पुगेकोले नागरिक खबरदारीको लागि प्राज्ञले अपिल गर्नु पर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ३ : ३८ बजे