भुटानी शरणार्थी प्रकरण : थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले भुटानी शरणार्थी प्रकरणमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

​​​​​​​ भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा प्रहरीले थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । प्रहरीले केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको नाममा पक्राउ पुर्जी जारी गरेको छ । 

पक्राउ पुर्जी जारी भएका हरिभक्त महर्जन दिया सहकारीको सञ्चालक समिति सदस्य हुन् । सहकारीकै अर्का सञ्चालक केशव तुलाधरको बैंक खातामा पनि ठगीको रकम आएको देखिएको अनुसन्धानमा फेला परेको छ । प्रहरीले गरेको अनुसन्धानबाट हरिभक्त र लक्ष्मीको नामको बैंक खातामा ५५ लाख नगद डिपोजिट भएको थियो ।

पीडितहरूले प्रहरीलाई सन्देश शर्माले भनेअनुसार उनीहरुको खातामा नगद डिपोजिट गरेको बयान दिएका छन् ।

प्रहरीले गत चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । त्यसैगरी चैत १५ गते पक्राउ परेका सागर मोरङको पथरी शनिश्चरे नगरपालिका स्थित वडा नम्बर–१० को पूर्व अध्यक्ष हुन् । सन्देश शर्मा चैत २९ मा पक्राउ परेका थिए ।

वैशाख २० मा सचिव टेकनारायण पाण्डे र वैशाख १९ मा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा इन्द्रजित राई पक्राउ परेका हुन् ।

घटनामा संलग्न आरोपमा उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे सहित ८ जना अहिले प्रहरीको हिरासतमा छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँले ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ भने आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको थाहा भएको छ ।

 

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  १ : १२ बजे