बुद्धले देखाउनुभएको पवित्र मार्गको अनुसरणले मैत्रीभाव प्रवर्द्धन गर्न सहयोग गर्दछ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले भगवान् बुद्धले देखाउनुभएको  पवित्र मार्गको अनुसरणले शान्ति, सद्भाव, करुणा र मैत्रीभाव प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । 

२५६७औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले शान्तिका अग्रदूत भगवान् गौतम बुद्धलाई प्रेम, दया, करुणा, विश्व शान्ति र अहिंसाको स्रोतको रूपमा लिने गरिएको र बुद्धको जन्म, ज्ञान प्राप्ति तथा महापरिनिर्वाणको त्रिसंयोग रहेको बताउनुभएको छ । 

उहाँले भन्नुभएको छ, “सम्पूर्ण नेपाली बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु, आजको पवित्र दिनले सम्पूर्ण मानव–जगत्लाई शान्ति, सद्भाव, दया, क्षमा, करुणा र ज्ञान प्राप्तिको मार्गमा अघि बढ्न प्रेरित गर्ने विश्वास लिएको छु ।” 

सभामुख घिमिरेले नेपाली समाजमा विभिन्न जातजातिहरूको बसोबास गर्ने, जातीय विविधताले नेपाल बहुजातीय मुलुक भएको र विविध जातिहरूको आफ्नो सांस्कृतिक परम्पराले गर्दा नेपाल बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्नुभएको छ । “विविधता भित्रको एकता हामी नेपालीको मौलिक पहिचान हो, बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन्”, उहाँले भन्नुभएको छ । 

जीवनलाई रोग, शोक, दुःख र कष्टबाट माथि उठाउने तथा शान्ति र करुणा प्रवर्द्धन गर्ने बुद्धका शिक्षा आज पनि त्यत्तिकै सान्दर्भिक रहेका र बुद्धका शिक्षाले सार्वकालीन महत्त्व राख्ने उहाँको भनाइ छ ।

भावी पुस्तालाई परम्परा हस्तान्तरण गर्न थप सहयोग पुग्नेछ : सभामुख
​​​​​​​त्यसैगरी, सभामुख देवराज घिमिरेले उभौली पर्वले भावी पुस्तालाई आफ्नो संस्कार, परम्परा हस्तान्तरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । 

उभौली पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले “नेपालको मौलिक संस्कृतिसहितको एक प्रमुख समुदाय किराँतहरूको उभौली पर्वले नेपालीबीच आपसी सद्भाव र सहिष्णुता कायम गर्दै सामाजिक एकता, शान्ति र मेलमिलापको वातावरण अभिवृद्धि गर्न प्रेरणा प्रदान गरोस्” भनी कामना गर्नुभएको छ । 

वसन्त ऋतुमा बालीनाली राम्रो होस् सबैमा सुख शान्ति सुस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपत्तिहरू नआउन् भनेर उभौली पर्व मनाउने गरिन्छ । किराँतीहरूको यो पर्व पृथ्वीमा कृषियुग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । 

यो पर्व प्रत्येक वैशाख पूर्णिमाका दिन भव्य रूपमा मनाउने चलन छ । सन्देशमा भनिएको छ, “किराँत धर्मावलम्बीहरूको पवित्र एवं महान् उभौली पर्वका अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली किराँत धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ७ : ०६ बजे