गुल्मी गंगा शेरचन हत्या प्रकरण : तीन अभियुक्त पुर्पक्षका लागि जेल चलान

गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका-७ वामीमा एक महिलाको हत्या गर्ने ३ जना अभियुक्त पुर्पपक्षको लागि कारागार चलान भएका छन्।वामीमा होटल सञ्चालन गर्दै आएकी ५८ वर्षीया गंगा शेरचनको गत माघ १५ गते निर्मम हत्या भएको थियो।

शेरचनको शव आफ्नै होटलभित्र प्लाष्टिकको टेपले हातखुट्टा र मुख बाँधेर मृत अवस्थामा भेटिएको थियो ।

उनको हत्यमा बाग्लुङ्गको वडिगाड गाउँपालिका–७ का थम्मनबहादुर घर्ती, मकवानपुरको बितिनी गाउँपालिका-७ घर भई हाल काठमाडौंको चन्द्रगिरी नगरपालिका-१० बस्ने लोकबहादुर दर्लामी र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ भर भई हाल काभे्रपलाञ्चोकको धुलिखेल नगरपालिका-७ बस्ने शिव बहादुर तामाङलाई पक्राउ गरी गुल्मी जिल्ला अदालतबाट पुर्पक्षका लागि जिल्ला कारागार गुल्मीमा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले बताए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले लुम्बिनी प्रदेश प्रहरी दाङसँगको समन्वय तथा केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंको सहयोगमा हत्यामा संलग्न थम्मनबहादुर घर्तीलाई गत फागुनमा पक्राउ गरिएको थियो। निजको बयानको आधारमा तिन जना मिलेर सामुहिक हत्या गरेको खुलेपछि प्रहरीले थप अनुसन्धानलाई तिव्रता दिएको थियो।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ३ : २९ बजे