नक्कली शरणार्थी प्रकरण: सचिव टेकनारायण पाण्डे पक्राउ

काठमाडौं – नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने काममा जोडिएका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। 

नक्कली शरणार्थी प्रकरमणमा मंगलबार मात्रै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार पक्राउ परेका थिए। त्यही प्रकरणमा जोडिएका पाण्डेलाई काठमाडौं परिसरको टोलीले बुधबार पक्राउ गरेको हो। गृह मन्त्रालयको सचिवको रुपमा कार्यरत रहँदा उहाँले ठगी गिरोहलाई सघाएको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको हो।

गृह मन्त्रालयकै आडमा एक गिरोहले भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका लैजाने भन्दै करीब नौ सय जनालाई ठगी गरेको थियो । जसमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार रहेका डा. इन्द्रजित राईसहित ६ जना यसअघि पक्राउ परिसकेका छन् ।

बादल गृहमन्त्रीबाट हटेपछि बालकृष्ण खाँण गृहमन्त्री भए, उहाँकै जोडबलमा पाण्डेलाई गृह सचिव बनाइएको थियो । पाण्डेमाथि पनि शरणार्थी भनेर अमेरिका पठाएर ठगी गर्ने गिरोहलाई सघाएको आरोप छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  २ : ११ बजे