कपन नीरा हत्या प्रकरण : जुवा खेल्ने आदतले यसरी बने ज्यानमारा,३ लाख ऋण तिर्न बनाएका थिए लुट्ने योजना 

काठमाडौं ।  कपन स्थित सरस्वतीनगरेको ब्यस्त वजारमा दिनदहाडै भाँडा पसले नीरा पाण्डे आचार्यको हत्या भयो। शरीरका विभिन्न भागमा २९ ठाउँजती छुरा रोपेर छ्यान्द्रा–छ्यान्द्रा भएको अवस्थामा नीराको शव भेटियो।

लामो अनुशन्धानपछि उनको हत्याको आरोपमा शनिवार प्रहरीले झापाको मेचीनगर नगरपालिका–१०, विर्तामोडका विनोद विश्वकर्मालाई पक्राउ गरेर सार्वजनिक गरेको छ। प्रहरीका अनुसार नीराको हत्या पुर्व योजना अनुसार नभई अपर्झट भएको देखिएको छ। 

झापाको विर्तामोड घर भएका विश्वकर्माले काठमाडौं आएर कसरी नीराको हत्या गरे ? भन्ने विषयमा पनि प्रहरीले घट्नाक्रम जोडेको छ। प्रहरीका अनुसार पहिला बालबालिकालाई कराँते सिकाउने विश्वकर्मा पछिल्लो समय बेबी लाउन्जमा बाउन्सरको काम गर्थे।

झापामै हुँदा उनलाई क्यासिनोमा जुवा खेल्ने लत लाग्यो। जुवा खेल्न क्रममा तीन लाख ऋण लागेपछि उनी घरबाटै निकालिए। घरपरिवारले ‘फर्केर नआइज’ भनेपछि उनी काठमाडौं आएर ठमेलको भाइब्रेन्ट क्लबमा बाउन्सरकै काम गर्न थाले। नयाँ बसपार्कमा डेरा बस्ने विश्वकर्माले मासिक १५ हजारको कमाईले भाडा तिर्नै सकेनन। त्यसपछि उनी भक्तपुरको लोकन्थलीमा वस्ने एकजना भाईसँगै बस्न थाले।

यही क्रममा उनले एक महिनाअघि मात्र भाइब्रेन्ट क्लबको काम पनि छोडे। त्यसपछि उनी बरालिदै हिड्न थालेको पाईएको छ। केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार वैशाख ७ गते उनी बिहान ११ बजेतिर लोकन्थलीबाट बस चढेर चाबहिलको केएल टावर पुगे। त्यसपछि हिँड्दै कपनको सरस्वतीनगर गए। त्यहाँ सडकमा हिँडिरहँदा उनको नजर नीराको सिक्रीमा पर्यो।

सिक्री देखेपछि तत्कालै उनले लुट्ने योजना वनाएर भाँडा किन्ने वहानामा पसल भित्र छिरे। सिक्री लुट्ने मौका पर्खेर वसेका उनले काउन्टरमा बसेकी निरालाई हिर्काए। निराले प्रतिकार गर्न खोजेपछि उनले मुख थुनेर भुइँमा लडाए र पसलमै भएको छुरीले पटकपटक प्रहार गरेको प्रहरीले जनाएको छ।

निराको हत्या गरेपछि विनोदले उनको घाँटीबाट सुनको सिक्री झिके र काउन्टरमा भएको १२ सय रूपैयाँ पनि लुटेको हत्या गर्न प्रयोग गरेको छुरा पनि उनले आफैं बोकेर हिँडेको प्रहरीको अनुसन्धानमा देखिएको छ।

उनले निराको हत्यामा प्रयोग गरेको छुरा मनोहरा खोलामा फालेको वयान दिएका छन्। नीराको विनोद केही दिन लोकन्थलीमै लुकेर वसे। त्यसपछि वैशाख १२ गते तार्केश्वर नगरपालिका–१० मा रहेको पाथिभरा सुनचाँदी पसलमा गएर सिक्रि धरौटीमा राखेर ५५ हजार रूपैयाँ झिकेको पाईएको छ।

त्यसपछि उनी झापा पुगेको पाईएको छ। प्रहरीले भने विनोदमाथि शंका वढेपछि उनी जान सक्ने सम्भावित सडकका फुटेज पछ्याउँदै लोकन्थलीस्थित विनोदका भाइको डेरामा पुग्यो। त्यहाँ रगतको टाटासहितको झोला, कपडा र जुत्ता फेला प¥यो।

सोधपुछका क्रममा पहिचान खुलेपछि दुई जना डिएसपीको नेतृत्वमा उपत्यका परिसर, अपराध अनुसन्धान र सिआइबीको टोलीले शनिवार राति १० बजे बिर्तामोड–१ स्थित इलाम बसपार्कबाट उनलाई पक्राउ गरेको थियो। उनले अपराध स्विकार गरिसकेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ४ : ३५ बजे