शैक्षिक क्रान्ति विना लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन सकिन्न

राजनीतिमा विचार, नीति र कार्यक्रमभन्दा भ्रम, हल्ला र आक्रोशले प्राथमिकता पाउनु सस्तो र भ्रमपूर्ण लोकप्रियतावाद बलियो देखिनु भनेको लोकतान्त्रिक प्रणाली, अभ्यास र संस्कारका विरुद्ध गतिविधि हुँदैछ भनेर बुझ्नुपर्छ । तर आजको जनताको चेतना र विवेकले राजनीति र लोकतान्त्रिक गणतन्त्रलाई त्यसरी बुझेको देखिएन । यसले गरेको सङ्केत स्वाभाविक र अपेक्षित प्रकृतिको छैन भन्ने कुरा जनतालाई बुझाउने कसरी ? आज यो मुख्य प्रश्न बन्नुपर्छ । जनता साक्षर र शिक्षित छन् तर असल र खराब छुट्याउन सक्दैनन् भने प्रश्न राजनीतिमाथि होइन, शिक्षा व्यवस्थामाथि गरिनुपर्छ । खराब शिक्षाले नागरिकको मनोविज्ञान असल बनाउन सक्दैन भन्ने चेत हामीमा आउनुपर्छ ।

लोकतान्त्रिक प्रणालीमा व्यक्ति वा दलमा आफ्नो राजनीतिक दर्शन, नीति र आर्थिक–सामाजिक मुद्दाप्रतिको दृष्टिकोण स्पष्ट हुनुपर्छ । यदि राजनीतिक दर्शन, नीति र आर्थिक–सामाजिक मुद्दाका बारेमा दल र त्यसको मूल नेतृत्वले स्पष्ट धारणा दिन सक्दैन भने त्यो अवसरवाद नै हो भनेर हामीले बुझ्नुपर्छ । 

जनताले राजनीतिक अवसरवादलाई चिन्न र त्यसको षडयन्त्रलाई बुझ्न सकेनन् भने लोकप्रियतावादी राजनीतिले आफूलाई बलशाली बनाउँछ । अहिले त्यही राजनीतिको चर्चा परिचर्चा भइरहेको छ । तर यसले देशमा भोलि पार्ने नकारात्मक प्रभावका बारेमा भने राजनीतिक विश्लेषक र प्राज्ञिकहरू मौन देखिएका छन् । किनभने तिनले आलोचनाको डरले सत्य लेख्न बोल्न डराइरहेका छन् । यसबाट हामीले के बुझ्नुपर्छ भने हाम्रो शिक्षाले हामीलाई ठिक ढङ्गले प्रशिक्षित र ठिक बेठीक छुट्याउने क्षमता विकास गरिरहेको छैन अथवा हामीलाई भ्रमित भिडको प्रभावबाट रमाउने बनाइरहेको छ ।

राजनीति भ्रमको भुमरीमा पर्नु अनि सस्तो र भ्रमित लोकप्रियतावादबाट निर्देशित हुनु भनेको भोलिका दिनमा नेपालमा नियन्त्रित अस्थिरता बढाउन सघाउनु नै हो । तर हाम्रो चेतना र विवेकले त्यसरी बुझ्न सकेन किनभने हामी जसरी दीक्षित भइरहेका छौँ, त्यसले हामीलाई ठिक ढङ्गले प्रशिक्षित गरिरहेको छैन ।

म्याकुल्ले नीतिबाट निर्देशित हाम्रो शिक्षा व्यवस्थाले हामीलाई आफू बलियो हुन र देशको स्वाभिमान उँचो बनाउन सिकाएको छैन । हामीलाई त आफ्नोपन छोड्दै र पहिचान त्याग्दै बाह्य स्वार्थमा रमाउन प्रोत्साहित गरिरहेको छ । जसले गर्दा हामीले राजनीतिलाई रोमाञ्चकारी गतिविधि ठानेर आफ्नो मताधिकारको ठिक प्रयोग गर्नबाट चुकिरहेका छौँ ।

हामीले बुझ्नुपर्थ्यो, दर्शन, नीति र कार्यक्रम विहीन राजनीति र खराब पात्रले भ्रमको खेती गर्छ, भ्रमित भिडको आवाज बोल्छ र भिडकै पछि पछि आफूलाई हिँडाउँछ भने दर्शन, नीति र कार्यक्रमबाट दीक्षित असल पात्रले समाजलाई आफ्ना विचार, नीति र कार्यक्रमका बारेमा आश्वस्त बनाउँछ र आफ्नो नेतृत्वमा भिडलाई सही बाटोमा हिँडाउन भ्रमबाट मुक्त हुन सिकाउँछ र सघाउँछ । तर हामीमा त्यो बुझ्ने क्षमता विकास गर्ने शिक्षा खै ? ब्यालेट विद्रोहको आवरणमा बाह्य स्वार्थलाई अझ बलियो बनाउने राजनीतिको पक्षमा उभिने कि विपक्षमा ? भन्ने प्रश्न गर्न सक्ने नागरिक र नेतृत्व तयार गर्ने शिक्षा व्यवस्थाको पक्षमा अभियान चलाउनुपर्ने भएको छ ।

आजको आवश्यकता लोकतान्त्रिक गणतन्त्रलाई जनमुखी र देशमुखी बनाउने राजनीति बुझ्ने र बुझाउने नागरिक र नेतृत्व तयार गर्ने शिक्षा नै हो । यसका लागि शैक्षिक क्रान्ति अनिवार्य भइसकेको छ । असल चरित्रको शिक्षाको अभावमा राजनीति असल बन्नमा अवरोध भइरहेको छ भन्ने सत्य बुझ्न बुझाउन ढिलो भइरहेको छ । २०४६ अनि २०६२÷६३ को जनआन्दोलनपछि हामी राजनैतिक तथा संवैधानिक मुद्दामा मात्र केन्द्रित हुँदा शैक्षिक मुद्दाले प्राथमिकता नै पाएन र आज नयाँ पुस्तामा लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने राजनीतिको पक्षमा उभिने विचार र क्षमता विकास भएन । जसले गर्दा जनादेशहरू अनपेक्षित रूपमा लोकतान्त्रिक गणतन्त्रको विपक्षमा देखिन थालेका छन् । त्यति मात्र होइन, नेपालमा नियन्त्रित अस्थिरता बढाएर आफ्नो स्वार्थ पूरा गर्ने राजनीति बलियो बनाउनका लागि बाह्य पक्षहरू उत्साहित भएर गतिविधिहरू अघि बढाउन सफल भइरहेका छन् ।

हाम्रो चेतना र विवेकले त्यसको प्रतिरोध गर्ने क्षमता देखाउन सकेको छैन । कारण हामीलाई हाम्रो शिक्षाले हामीमा दास मनोविज्ञान विकास गरेर त्यसबाट नै निर्देशित हुन सिकाइरहेको छ । तथ्याङ्कमा हामी शिक्षित र साक्षर भइरहेका छौँ । साक्षरता दर बढिरहेको छ । तर हाम्रो चेतना र विवेक मात्र होइन, देशको आर्थिक–सामाजिक अवस्था कमजोर बन्दैछ । यस्तो किन भइरहेको छ ? खोजी भइरहेको छैन । यो लेखकको बुझाइमा समस्या हाम्रो शिक्षा व्यवस्था र आर्थिक नीति मै छ । हुन त हाम्रो प्रशासनिक, न्यायिक र सामाजिक संरचनाले पनि लोकतान्त्रिक गणतन्त्र बलियो बनाउने नियतका साथ काम गरिरहेको छैन । जसका कारणले जनअपेक्षाहरू सम्बोधन भएनन् र व्यवस्था विरोधीहरूलाई आफ्ना राजनीतिक गतिविधि गर्ने अवसरहरू मिलिरहेको छ । तर यो यथार्थलाई स्विकारेर शैक्षिक, आर्थिक, प्रशासनिक, न्यायिक र सामाजिक संरचनाहरूमा संरचनात्मक परिवर्तन गर्न लोकतान्त्रिक गणतन्त्रमा विश्वास गर्ने पक्षहरूबीच मस्तिष्क मन्थन र सहकार्य गर्ने मनस्थिति र परिस्थिति बन्ने अवस्था देखिएको छैन । 

शैक्षिक, सामाजिक र राजनीतिक प्रणालीले नागरिकको चेतना विशिष्ट बनाएर भ्रमहरू चिन्न सक्ने र भावनात्मक  रूपमा नभड्किने विवेकका साथै नागरिकमा कामलाई सम्मान र देशभित्रै सेवा अनि उत्पादनमा जुट्ने मनोविज्ञान पनि विकास गर्ने लक्ष्य लिएको हुनुपर्छ । आज त देश नागरिक निर्यात गरेर वस्तु आयात गर्ने दक्षिणपन्थी अवसरवादी आर्थिक नीति र पद्धतिबाट निर्देशित भएर अघि बढिरहेको छ । परिणामस्वरूप देश युवाविहीन बन्दैछ र अस्वाभाविक रूपमा युवाहरू बाह्य स्वार्थ पूरा गर्ने राजनीतिक गतिविधि बलियो बनाउने माध्यम बनिरहेका छन् । 

भनिन्छ, “नागरिक असल हुनलाई असल भएर मात्र पुग्दैन्, खराब पात्र र प्रवृत्तिहरूबाट पनि जोगिनुपर्छ ।” यसका लागि शिक्षाले सोहीअनुरूप हामी प्रशिक्षित गरिरहेको छैन । कारण हाम्रो शिक्षाको चरित्र नै ठिक छैन, जसले हामीलाई भ्रममा रमाउन र भावनात्मक रूपमा भड्किनबाट जोगाउन सकिरहेको छैन । यति मात्र कहाँ हो र, हामीलाई देशभन्दा परदेश प्यारो मान्न र आफ्नो ज्ञान, सीप, अनुभव, कला र क्षमताहरू परदेशको समृद्धिमा प्रयोग गर्न प्रोत्साहित गरिरहेको छ । वास्तवमा हाम्रो शैक्षिक, न्यायिक, प्रशासनिक, आर्थिक र सामाजिक–सांस्कृतिक प्रणालीहरू उपनिवेशवादी विचारबाट निर्देशित हुँदा हाम्रो नीति, पद्धति र मनस्थिति उपनिवेशवादी भएका कारणले देश पीडित भइरहेको छ । 

 

राजनैतिक दृष्टिकोण के हो र कस्तो राजनीति गर्ने हो पत्तो छैन । सामाजिक–आर्थिक मुद्दामा धारणा के हो बोलिएको छैन । राज्यको शासकीय स्वरूप कस्तो हुनुपर्छ थाहा छैन । छिमेक नीति र परराष्ट्र सम्बन्धका बारेमा कुनै धारणा छैन।निजीकरण र उदारीकरण आर्थिक नीति के हुन्छ भनिएको छैन । शिक्षा तथा सामाजिक व्यवस्था कस्तो बनाउने, उत्तर छैन । तैपनि पनि ठुलो स्वर गरेर अहिले व्यालेट विद्रोह भनिँदै छ, यो विद्रोहले कस्तो व्यवस्था ल्याउनका लागि भूमिका खेल्ने हो, कोही केही भन्दैनन् । एकोहोरो मिडिया र सामाजिक सञ्जालहरू प्रयोग गरेर जनमनोविज्ञान भ्रमित बनाईंदैछ । हामीले बुझ्नुपर्छ, ”शैक्षिक क्रान्ति अनि न्यायिक, प्रशासनिक, आर्थिक र सामाजिक–सांस्कृतिक संरचनामा संरचनात्मक परिवर्तनविना लोकतान्त्रिक गणतन्त्रलाई सफल र देशलाई प्रणालीगत तरिकाबाट समृद्ध बनाउन सकिन्न । त्यसैले अबको राजनीतिक मुद्दा शैक्षिक क्रान्ति र न्यायिक, प्रशासनिक, आर्थिक र सामाजिक–सांस्कृतिक संरचनामा संरचनात्मक परिवर्तनमा केन्द्रित हुनुपर्छ।”

राजनीतिमा गतिभन्दा दिशा महत्त्वपूर्ण हुन्छ भन्ने कुराको हेक्का नै नराखी जसरी नकारात्मक सोचको राजनीतिलाई अघि बढाउन खोजिँदै छ । त्यसले राष्ट्रिय आवश्यकता र सङ्कल्पलाई पूरा गर्ने क्षमता राख्दैन भन्ने चेत हामीमा विकास गर्नका लागि पनि शिक्षामा आमूल परिवर्तन गर्नै पर्ने भएको छ किनभने गुणस्तरीय शिक्षा स्वतन्त्रता र समृद्धिको मूल ढोका खोल्ने मुख्य माध्यम हो । समस्या हाम्रो शिक्षा र सामाजिक प्रणाली मै छ, तर हामी भने राजनीतिमा मात्र समस्या खोजेर समय, साधन, श्रोत र क्षमताहरूको बर्बादीमा रमाइरहेका छौँ । खराब शिक्षाले हामीलाई असफल बनाइरहेको छ र भोलिको नेपाल कस्तो बनाउने भन्ने कुरा आजको शिक्षा कस्तो छ भन्ने कुराले निर्धारण गर्छ, बुझ्न र बुझाउन ढिला भइरहेको छ । 

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ९ : १४ बजे