यस्तो छ आजको विनिमय दर

कपन घटना : सिक्री लुटपाटको उद्देश्यले हत्या,हत्यालगत्तै टेम्पो चढेर भागेका थिए आरोपी

​​​​​​​काठमाडौँ । गत वैशाख ७ गते कपनको सरस्वतीनगरमा भएको निरा पाण्डे आचार्यको हत्यालगत्तै आरोपी टेम्पो चढेर भागेको खुलेको छ । सिक्री लुटपाटको उद्देश्यबाट भएको हत्यापछि आरोपी पहिले टेम्पु चढेर चावहिलसम्म र त्यहाँबाट पठाओ चढेर मनोहरा पुलसम्म पुगेको पाइएको हो ।  

गत वैशाख ७ गते अपरान्ह बागलुङ स्थायी घर भएकी निरा पाण्डे आचार्यको आफैले सञ्चालन गरेको निरु किचन नामक भाँडा पसलमा हत्या भएको थियो ।

हत्याको ९ दिनपछि शुक्रबार राती मात्रै आरोपीको पहिचान खुलेको थियो । प्रहरीको प्राविधिक विश्लेषणबाट हत्यामा संलग्न रहेका युवक विनोद विक भएको पत्ता लागेपछि प्रहरी विनोदको खोजीमा झापासम्म पुगेर उनलाई पक्राउ गरेको थियो । प्रहरीले हत्या आरोपमा पक्राउ परेका विनोद बिकको कोठाबाट रगत लागेको सर्ट र एउटा झोला बरामद गरेको छ । 

प्रहरीले शनिबार झापाबाट पक्राउ परेका बिक नियमित जाने गरेको काठमाडौंको कागेश्वरी-मनोहरास्थित एक रेष्टुरेन्टको कोठाबाट ती सामान बरामद गरेको हो ।

​​​​​​​हत्या भएको समय वरपरको सिसीटिभी फुटेज लगायतको प्राविधिक विश्लेषण पश्चात् हत्यामा विनोदको संलग्नता हुनसक्ने भन्दै उहाँको खोजी गरेको थियो ।घटनास्थल नजिकै रहेको सिसीटिभी फुटेजमा देखिएको व्यक्तिको भिडियो फुटेज अध्ययन गर्दै जाँदा प्रहरी मनोहरा पुलसम्म पुगेको थियो ।

मनोहरा पुलमा पुगेर कोही व्यक्ति कुनै  पठाओबाट झरेको पाएपछि प्रहरीले करिब ४ दिनसम्म ती व्यक्तिको खोजी गरेको थियो । 

प्रारम्भिक अनुसन्धानका क्रममा बिकले निराको सुन लुटपाट गर्ने उद्देश्यले हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।

उनले केही सुन घटना भएको भोलिपल्ट बालाजुको एक सुन पसलमा राखेको अनुसन्धान अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १ : ३४ बजे