मालवाहक सवारीको भारमापनमा अन्योलमा

काभ्रेपलाञ्चोक – अरनिको, बिपी र हेलम्बु राजमार्गमा गुड्ने मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न दिएको निर्देशनमा अन्योलता भएको छ । 

गृह मन्त्रालयले काभे्रपलाञ्चोकका विभिन्न सडकमा गुड्ने मालवाहक सवारीलाई भारमापन गर्न निर्देशन दिएपछि स्थानीय प्रशासनले यही वैशाख ७ गतेदेखि अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको थियो । 

मन्त्रालयले जिल्लाका तीन स्थानमा रहेको भारमापन केन्द्र (तौलपुल) सञ्चालनमा ल्याउनसमेत परिपत्र गरेपछि मालवाहक सवारीका व्यवसायीले सोही दिनदेखि विरोधस्वरुप निर्माण सामग्री ढुवानी ठप्प पार्दै आएका थिए । पाँच दिनसम्म मालवाहक सवारी ठप्प भएपछि काभे्रपलाञ्चोक प्रशासन र व्यवसायीबीच भएको छलफल निष्कर्षविहीन भएपछि पूर्ववत् अवस्थामा मालवाहक सवारी सञ्चालन हुँदै आएका छन् । 

प्रशासनको निर्देशनपछि मालवाहक सवारी ठप्प पार्दै ढुवानीसम्बद्ध तीन संस्थाले जिल्ला प्रशासन कार्यालयसँग ढुवानी सहजताको वातावरण बनाइदिन माग गर्दै आएका थिए । “गृहको निर्देशनलाई अवज्ञा गरिएको होइन, कुन विधिद्वारा मालवाहक सवारीको भारमापन गर्ने भन्ने विषयमा थप गृहकार्य गर्नुपर्ने भएकाले हाल यथावत रहन गएको हो, तौलपुल सञ्चालन गर्नैपर्छ”, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भन्नुभयो । उहाँका अनुसार तौलपुल सञ्चालन नगर्ने विषयमा कुनै लिखित निर्णय भएको छैन ।
 
व्यवसायीले तौलपुल सञ्चालनपछि मजदुर र व्यवसायीलाई थप समस्या भएको जनाउँदै उक्त निर्णय कार्यान्वयन नगर्न माग गर्दै आएका हुन् । यातायात व्यवस्था विभागको सात दशमलव पाँच घनमिटर निर्माण सामग्री बोक्न पाउने प्रावधानअनुसार ढुवानी भइरहेकामा भारमापन केन्द्र (तौलपुल)मा तौल लिँदा समय लाग्ने तथा प्रशासनले बोक्नुपर्ने तौलको यकिन नगरी झन्झट दिलाएको कारण देखाउँदै व्यवसायीले ढुवानी रोकेको जनाएका थिए । तर विभागले आयातनको मापदण्ड दिएर बोक्न पाउने तौलबारे उल्लेख नगर्दा भारमापन गर्न अन्योलता बढेको हो । 

बागमती टिपर व्यवसायी सङ्घका अध्यक्ष सुरेश खत्रीले विभागको प्रावधानअनुसार नै चलेका बताउँदै तौलपुलमा गाडी जोखेर सामग्री ढुवानी गर्न नसकिने बताउनुहुन्छ । उहाँका अनुसार प्रशासनसँगको छलफलपछि पूर्ववत् अवस्थामा मालवाहक सवारी सञ्चालन भएको हो । टिपरलाई दिउँसो ढवानी गर्न प्रतिबन्ध लगाउँदै आइएको छ ।
 
विसं २०७८ पुसमा काभ्रेपलाञ्चोकका तीन स्थान पाँचखाल नगरपालिकाको केराघारी, पनौती नगरको नैकिन्टार र नमोबुद्ध नगरको भकुण्डेमा भारमापन केन्द्र (तौलपुल) व्यवस्थित गरिएको थियो । तौलपुल स्थापनापछि मालवाहक सवारीले आनाकानी गरेपछि तीनै स्थानीय तहले भारमापन केन्द्र सञ्चालन गरी ‘लोडसिट’ लिई ढुवानी गर्न÷गराउन आग्रहसमेत गर्दै आएका थिए । मालवाहक सवारीसाधनको भारमापन नगर्दा जिल्लास्थित राजमार्गका सडक जीर्ण बन्दै गएका छन् । 

भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ (संशोधनसहित)को व्यवस्था, यातायात विभागको पत्र र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा २०७८ फागुनमा जारी पत्रअनुसार स्थानीय तहले भारमापनलाई कडाइ गरे पनि भारमापन हुनसकेको थिएन । 

तौलपुलमा भारमापन गरेवापत प्रतिसवारीले रु एक सय तिर्नुपर्ने नियम बनाइएको छ । निर्देशिकामा छ पाङ्ग्रेभन्दा माथि क्षमताका मालवाहक सवारीसाधनले अनिवार्य भारमापन गर्नुपर्ने उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ७ : ४८ बजे