दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कप सुरु

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनलअन्तर्गत वर्षाका कारण रोकिएको नेपाल र कुवेतबीचको खेल पुनः सुरु भएको छ। बर्षादको कारण झण्डै २ घण्टा रोकिएको खेल ४२ ओभरमा छोट्याएर सुरु गरिएको हो।

कुवेतविरुद्ध नेपालले टस हारेर ब्याटिङ थालेको नेपालले १७ औं ओभरमा एक सय रन पूरा गरेको थियो। त्यसपछि २३ ओभर पूरा भएर २४औं ओभरको दोस्रो बलपछि खेल रोकिएको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ९ बजे सुरु भएको खेलमा कुवेतका कप्तान मोहम्मद अस्लमले टस जितेर फिल्डिङ रोजेका थिए।

नेपालका लागि ओपनिङमा आएका कुशल ३९ बलमा सात चौका र एक छक्कासहित ४३ रन बनाएर अद्नान इद्रियसको बलमा यासिन पटेलको हातबाट क्याच भएका थिए।

कुशल आउट भएसँगै क्रिजमा उत्रिएका भीम सार्की एक रन बनाएर पभिलियन फर्केका छन्। चौथो बलमा उनी मोहम्मद अस्लमको बलमा सान्दारुवानको हाटबाट क्याच भए। यस्तै, आसिफ शेख २८ बलमा एक चौका र तीन छक्कासहित ३१ रन जोडेर आउट भएसँगै नेपालले तेस्रो विकेट गुमाएको थियो।

अहिले क्रिजमा भएका कप्तान रोहित पौडेल ३० तथा कुशल मल्ल ३२ रन बनाएर खेलिरहेका छन्। नेपाली टिममा एक परिवर्तन भएको छ। मुख्य प्रशिक्षक मोन्टी देशाईले गुल्शन झाको स्थानमा आज करण केसीलाई प्लेइङ ११ मा स्थान दिएका छन्।

पहिलो खेलमा मलेसिया, दोस्रो खेलमा ओमानलाई पराजित गरेको नेपालले तेस्रो खेलमा साउदी अरबसँग खेल रद्द भएपछि अंक बाँडेको थियो। समूह ‘ए’को अन्तिम खेलमा कतारलाई हराएसँगै समूह विजेता बनेको नेपालले समूह ‘बी’को उपविजेता कुवेतसँग भेट निश्चित गरेको हो।

कुवेतले हङकङ, बहराइन, सिंगापुरलाई पराजित गरेर यूएईसँग हारे पनि समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो।

आजै मुलपानी क्रिकेट मैदानमा भइरहेको अर्को सेमिफाइनलमा ओमान र यूएई भिड्दै छन्। ओमान समूह ‘ए’को उपविजेता तथा यूएई समूह ‘बी’को विजेता बन्दै अन्तिम चारमा पुगेका हुन्।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  १ : २५ बजे