कञ्चनपुरमा नाबालिग करणी आरोपमा युवक पक्राउ

धनगढी – नाबालिग करणी आरोपमा एक युवक पक्राउ परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका–८ तिलाचौरकी एक १५ वर्षीया नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोपमा सोही स्थानका २० वर्षीय युवकलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । करणी  घटनामा ती युवकलाई सहयोग गरेको आशंकामा केही अन्य युवालाई पनि प्रहरी कार्यालयमा बोलाएर सत्यतत्य बुझ्ने काम भएको बताइएको छ ।

बुधबार मध्यरातमा नाबालिगलाई आरोपित युवकले घर नजिकको खेतमा जबरजस्ती करणी गरेको भन्दै शुक्रबार उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। पीडित परिवारले एक जना युवकविरुद्ध उजुरी दिएको बताइएको छ । भारतमा बस्दै आएकी ती नाबालिगा १२ वैशाखमा घर आएकी थिइन् । 

उनलाई गाँउकै एक युवकले राति घरबाटै लगेर जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख छ । पीडित र पिडक दुबैको स्वास्थ्य परीक्षण गरी घटनाको अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ९ : १२ बजे