‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

युक्रेनलाई प्रतिज्ञा गरिएको ९८ प्रतिशत हतियार दिइसकियो : नेटो प्रमुख

काठमाडौँ – उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का सहयोगी र साझेदार देशहरूले युक्रेनलाई दिन प्रतिज्ञा गरेको ९८ प्रतिशत हतियार दिइसकेको बताएको छ ।

नेटोका प्रमुख एवं महासचिव जेन्स स्टोलटेनबर्गले बिहीबार युक्रेनलाई १,५५० बख्तरबन्द सवारीसाधन र २३० वटा ट्यांक उपलब्ध गराइएको बताएका हुन् ।

यी हतियारले युक्रेनलाई रुसविरुद्धको लडाँइमा ठूलो फाइदा पुर्‍याएको र भूमि फिर्ता ल्याउनसमेत मद्दत गरेको उनको भनाइ छ । “हामीले कुल नौवटा नयाँ युक्रेनी सशस्त्र ब्रिगेडलाई तालिम दिएर तयार पारेका छौँ । यसले युक्रेनलाई कब्जा गरिएको क्षेत्र फिर्ता लिन जारी प्रयासलाई बलियो बनाउँछ,” स्टोल्टेनबर्गले पत्रकार सम्मेलनमा भने ।

नयाँ ब्रिगेडहरूमा करिब ३० हजारभन्दा बढी सेना रहने अनुमान गरिएको छ । युक्रेनलाई यसका सहयोगी मुलुकले ठूलो मात्रामा गोला बारूद पठाएका छन् । स्वीडेन र अष्ट्रेलियाजस्ता केही नेटो साझेदार देशहरूले सशस्त्र गाडीहरू पनि उपलब्ध गराएको छ ।

नेटो सदस्य राष्ट्रहरूले विमान विध्वंसक प्रणाली र तोपखाना उपलब्ध गराएको छ भने पोल्याण्ड र चेक रिपब्किले सोभियत संघका बेला बनेका मिग–२९ विमान उपलब्ध गराएको छ।

स्टोल्टेनबर्गले युक्रेनलाई गरिएको यो अभूतपूर्व सैन्य सहयोग भएको तर रूसलाई कम आंकलन गर्न नहुने बताएका छन् ।

बिहीबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चिनिया नेता सी चिनफिङसँग युद्धका बेला पहिलोपटक लामो र अर्थपूर्ण वार्ता गरेको भनेपछि नेटो प्रमुखको यस्तो टिप्पणी आएको हो ।

युक्रेनयुद्धको पछिल्लो अवस्थामा बिहीबार राति राजधानी कीभलगायत धेरै सहर र क्षेत्रमा भएको हवाई आक्रमणमा परी कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै पाँचजना घाइते भएको बताइएको छ ।

रुसी सेनाले बिहीबार पूर्वी युक्रेनी सहर बाख्मुतमा महत्त्वपूर्ण आपूर्ति मार्गहरू तोड्न र रक्षा गर्ने सेनामाथि थप दबाब दिन प्रयास गरेको युक्रेनी सैन्य अधिकारीहरूले बताएका छन् ।

युक्रेनको लामो समयदेखि प्रतीक्षा गरिएको काउन्टर आक्रमणले फेरि युद्धलाई महत्त्वपूर्ण नयाँ चरणमा लैजान सक्ने बताइएको छ । रुसले कब्जा गरेका क्षेत्रमा युक्रेनले काउन्टर आक्रमण गर्ने अनुमान गरिएको छ ।-एजेन्सी

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ११ : ५८ बजे