दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

एलआरआई स्कुल तथा रसियन संस्थाबीच संयुक्त हस्ताक्षर

काठमाडौँ । काठमाडौँ कलङ्कीको एलआरआई स्कुल, स्टेट अटोनोमस एडुकेसनल इन्सट्यूट अफ एडिसनल प्रोफेसनल एजुकेसन अफ मस्को सिटी “सेन्टर अफ पेडागोजिकल प्रोफेसन्सि” र अटोनोमस नन् प्रफिट अर्गनाईजेसन “स्कुल अफ द सेन्टर अफ पेडागोजिकल प्रोफेसन्सि” बीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ।

उक्त संस्थाहरुबीच शैक्षिक, सांस्कृतिक तथा ऐतिहासिक सिकाइ तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले सो सम्झौता गरिएको हो। 

अनलाइन प्रविधि मार्फत त्रिपक्षीय उपस्थितिमा एलआरआईका प्राचार्य डा.देबकान्त जोशी र रसिया मस्को संस्थाका डाइरेक्टरहरू आर्टम सिसोभ तथा भिक्टर फुरिनले आज आयोजित एक समारोहबीच सम्झौता सम्पन्न भएको हो।

हरेक विद्यार्थीहरू आफैमा विशिष्ट क्षमताका हुने भन्दै तिनीहरूको क्षमतालाई नियमित  शैक्षिक अध्ययनका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको अवलोकन भ्रमणले थप प्रभावकारी एवंम सशक्त बनाउन मद्दत पुग्ने प्राचार्य डा.जोशी बताउनुभयो।

सम्झौता कार्यक्रम अन्तर्गत दुवै देशका विद्यार्थीहरूले एक अर्काका देशको भ्रमण गरी शिक्षा प्रणाली, सांस्कृतिक, ऐतिहासिक तथा मनोरञ्जनात्मक गतिविधिहरूमा प्रत्यक्ष सहभागी भई अनुभव हासिल गर्ने मौका पाउने छन्।

एलआरआई स्कुलले विगत लामो समय देखि विश्वका १७ वटा मुलुकका विद्यालयहरूसँग सम्झौता गरी शैक्षिक, ज्ञान, सिप तथा सांस्कृतिक महत्त्वका विषयमा जानकारी आदान प्रदान गर्दै आएको छ। कोभिडका कारण सो कार्यक्रम स्थगन भएको थियो।

हाल जनजीवन सामान्य भए सँगै  कार्यक्रमलाई निरन्तरता दिन रुसको संस्थासँग नयाँ सम्झौता गरिएको विद्यालयका प्रमुख प्रशासकीय अधिकृत दीपक जोशीले बताउनुभयो। 

वर्तमान विश्वव्यापीकरणको समयमा यस्ता जानकारी मूलक अन्तर्राष्ट्रिय स्तरका भ्रमणले विद्यार्थीहरू आत्मविश्वास, आत्म अनुशासन, सामाजिकीकरण, सिक्ने भावना जस्ता व्यवहारमा सकारात्मक प्रभाव पार्ने विभिन्न अध्ययनबाट पुष्टि भएको विद्यालयले जनाएको छ।

कार्यक्रम अन्तर्गत रसियन टोलीले जेठ महिनामा नेपालको भ्रमण गर्ने कार्यक्रम तए भएको एलआरआई नेपाल तथा रसिया शैक्षिक आदान प्रदान कार्यक्रम संयोजक कौशल पन्तले बताउनुभयो। 

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ८ : ११ बजे