लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त 

 

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त हुनुभएको छ । 

प्रदेश प्रमुख अमिक शेरचनले कांग्रेस संसदीय दलका नेता चौधरीलाई संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।

८ दलका सांसदहरूको समर्थनमा चौधरीले आज दिउँसो मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । 

चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३र३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक/एक जना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन रहेको छ ।

गत पुस २७ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बन्नुभएका लिला गिरीले वैशाख ११ गते प्रदेशसभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन भएको हो । 

केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादीसहित ५ दलले समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत गुमाउनुभएको थियो । 

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ७ : ०५ बजे