जापानी राजदूत किकुटा र परराष्ट्रमन्त्री साउदबीच भेटघाट

काठमाडौं –  नेपालका लागि जापानका राजदूत श्री किकुता युताका र परराष्ट्रमन्त्री नारायण प्रकाश साउद बीच भेटघाट भएको छ ।

बुधबार सिंहदरबारमा भएको भेटमा राजदूत किकुटाले जापानको विदेश मामिला मन्त्री हयाशी योशिमासाले पठाउनु भएको  बधाई ज्ञापनपत्र हस्तान्तरण गर्दै परराष्ट्रमन्त्री साउदलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । राजदूत किकुटा र परराष्ट्रमन्त्री साउदले आ–आफ्ना विचार आदानप्रदान गर्नुका साथै नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विचार व्यक्त गर्नुभयो  ।

राजदूत किकुटाले नेपाल र जापानबीच सुमधुर द्विपक्षीय सम्बन्धको लामो इतिहास रहेको उल्लेख गर्दै नेपालको विकासमा जापानले  दशकौंदेखि सामाजिक–आर्थिक सहयोग गर्दै आएको बताउनु भयो ।

राजदूत किकुटाले सन् २०१५ मा गएको गोरखा भूकम्पपछि भएको क्षतिको पुन:प्राप्तिका लागि नेपाल सरकारले गरेको कामको प्रशंसा गर्नुभयो । उहाँले विपद् रोकथाम र जनचेतना जगाउनका लागि जापानको अनुभव साझा गर्न इच्छा व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ३ : ३८ बजे