घरको सटरमा मापदण्ड विपरीत सञ्चालित पेट्रोल पम्पमा महानगरकाे सिल

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुस्थित कोतः धुक आयल स्टोर नामको पेट्रोल पम्प सिल गरेको छ।

महानगरपालिकाले मापदण्ड विपरीत ५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको हो ।

सडकमै निर्बाध पेट्रोल पम्प चलाइएकाले सिल गरिएको नगर प्रहरी प्रमुख पाण्डेले जानकारी दिए। उनले भने, ‘बाटोमै निर्बाध सञ्चालन गरिएको छ, तत्काल सिल गर्न लागेका हौँ, सिल गरेपछि बन्द होला नभए हटाउँछौँ।’

बालाजु–ठमेल सडकको दायाँतर्फ रहेको कोतःधुकु आयल स्टोरका कारण असुरक्षा बढेको उजुरीपछि गत १० फागुनमा काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका सबै पम्पको अवस्थाबारे निगमलाई सोधेको थियो ।

यसअघि काठमाडौं महानगरपालिकाले आयल निगमले मापदण्ड विपरीत रहेका पेट्रोल पम्पहरु हटाउन सहजीकरण नगरेको भन्दै गुनासो गर्दे आएको थियो ।

२०७५ सालमा फ्यूल पम्प सम्बन्धी विनियमावली संशोधन भएपछि सरकारले मुख्य सडक किनार, घना वस्ती र संवेदनशील क्षेत्रका १८ वटा पम्प हटाउने निर्णय ०७६ मा गरेको थियो । ती मध्ये १६ वटा पम्प राजनीतिक पहुँच लगाएर अझै पनि यथास्थानमै सञ्चालनमा छन् । त्यसमध्ये कोतःधुकु एक रहेको थियो ।

केही समयअघि मात्रै उक्त पेट्रोल पम्पका कारण असुरक्षा बढेको उजुरी परेपछि महानगरले आफ्नो क्षेत्रका सबै पम्पको अवस्थाबारे निगमबाट जानकारी लिएको थियो।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ३ : ०८ बजे