शिक्षाको गुणस्तर विशिष्ट बनाउन कै लागि शिक्षाको चरित्र बदल्नुपर्ने समय भएको छ । अब प्रश्न उठ्छ, गुणस्तरीय शिक्षा शैक्षिक क्रान्ति नगरी कसरी सम्भव होला ? प्रशासनिक, न्यायिक, आर्थिक र सामाजिक संरचनामा संरचनात्मक परिवर्तन नगरी के शैक्षिक क्रान्तिले मात्रै देशको चित्र बदल्न सक्छ ? आज यी प्रश्नहरूमा सरोकारवालाहरू केन्द्रित हुनुपर्ने हो, तर आश्चर्यको कुरा शिक्षा क्षेत्रका मुख्य सरोकारवालहरू इमानदार रूपमा सक्रिय हुन चाहिरहेका वा सकिरहेका छैनन् । हामीले बुझ्नुपर्छ, शिक्षाले नागरिकको मनमा आसा जगाउन र देशको समस्याहरूको समाधानमा सहयोगीको भूमिका खेल्न अनि नागरिकलाई असल र सबल बनाउनुका साथै समाजको मनोविज्ञान सकारात्मक र रचनात्मक बनाउन पनि सक्नुपर्छ ।
कति मान्छेहरू भन्छन्, सबभन्दा पहिला नीतिहरूको राजा राजनीति ठिक हुनुपर्छ अनि अरू बाँकी सबै आफै ठिक हुन थाल्नेछ । रूपमा हेर्दा यो तर्क ठिक नै जस्तो लाग्छ । तर यो तर्कले सार पक्षलाई बेवास्ता गरेको छ किनभने नीतिहरूको राजा राजनीति ठिक बनाउनका लागि राजनीतिक नेतृत्व र नागरिकको मनस्थिति र देशको परिस्थिति पनि ठिक बनाउनुपर्छ । नागरिक र राजनीतिकदेखि न्यायिक नेतृत्वको मनस्थिति ठिक बनाउनका लागि शैक्षिक र सामाजिक व्यवस्थाको चरित्र पनि ठिक हुनुपर्छ । तर हिजो आज राजनीति र राजनीतिक नेतृत्व मात्र ठिक भएन भनेर गलत भाष्य निर्माण गर्न खोजिँदै छ र त्यहीअनुसार वैकल्पिक राजनीति गरिँदै छ ।
युनेस्कोले भन्छ, “सबै कुरा गुणस्तरीय शिक्षाबाट सुरु हुन्छ । हामीलाई त्यस्तो शिक्षा चाहिएको छ, जसले हामीलाई हामीले सामना गर्नु परेका समस्याहरू र तिनीहरूको समाधान गर्न आवश्यक पर्ने सीपहरूको बारेमा ज्ञान दिन्छ । हामी विश्वका सबै प्रजातिहरूको ख्याल राख्छौँ भन्ने कुरा सुनिश्चित गर्छ र हाम्रो पृथ्वीको भविष्यको लागि कार्य गर्न कसरी तयारी गर्ने भनेर सिकाउँछ ।” त्यति मात्र होइन, शिक्षाले जन्मभूमि अर्थात् देश, भाषा, संस्कृति र मौलिक धर्म अर्थात् पहिचानहरू चिन्न र संरक्षण गर्न सिकाउन सक्नुपर्छ । पहिचान छोड्ने अनि त्यसका विरुद्ध गतिविधि गर्नेहरूलाई राष्ट्रका शत्रुका रूपमा हामीले बुझ्नुपर्छ ।
पछिल्लो समय पहिचान त्यागेर भएता पनि प्रगति खोज्ने गलत अभ्यासले प्राथमिकता पाएको छ । यसका लागि हाम्रा शिक्षा तथा सामाजिक व्यवस्थाहरू जिम्मेवार देखिन्छन् । तर हामी भने राजनैतिक तथा संवैधानिक व्यवस्थामा त्रुटि देखाएर देशको मुख्य समस्याहरूप्रति गम्भीर र त्यसको समाधानमा सहयोगी हुन सकिरहेका छैनौँ । मिडियादेखि सामाजिक सञ्जालहरूमा शैक्षिक मुद्दाका बारेमा चर्चा नै हुँदैन बरु त्यसको प्रयोग नकारात्मक वातावरणको विकास गर्नमा भइरहेको छ । सामाजिक सञ्जाल र अनलाइन मिडियाहरू त लागु पदार्थजस्तो भएको छ र मानव समाजलाई बिस्तारै विषाक्त बनाउँदै छ । त्यसैले अब सामाजिक सञ्जालहरूको प्रयोग गर्दा र अनलाइन मिडिया हेर्दा त्यसले पुर्याउने लाभ हानीका बारेमा शिक्षाले हामीलाई प्रशिक्षित गर्न सक्नुपर्छ ।
विज्ञान प्रविधि र ध्यान, शक्ति र शान्तिबीच सन्तुलन मिलाउने गुणस्तरीय शिक्षाको अभावमा विज्ञान प्रविधि र शक्तिको प्रयोग मानवताविरुद्ध भइरहेको छ भने ध्यान र शान्तिले प्राथमिकता पाएको छैन र पश्चिमा चिन्तन र जीवन प्रणालीको प्रभाव बढ्दा हाम्रो समाजमा भाइचारा र मानवता द्रुत गतिमा हराउन थालेको छ ।
आजको हाम्रो शिक्षाले नयाँ पुस्ताको मनोविज्ञान नकारात्मक र अराजक बनाउँदै छ । खराब बीउले असल फसल नदिएझैँ खराब चरित्रको शिक्षाले असल नागरिक र नेतृत्व तयार गर्न सक्दैन भन्ने चेत हामीमा अझै आएको छैन । हामीले के बुझेनौँ भने खाना, शिक्षा र सूचना असल भएन भने नागरिकको मनस्थिति अर्थात् चेतना र विवेक श्रेष्ठ बन्नबाट रोक्दो रहेछ । हाम्रो यही कमजोर चेतनाबाट फाइदा उठाएर बाह्य पक्षले बहुभाषिक शिक्षालाई धर्मान्तरणका गतिविधि गर्ने माध्यम बनाएका छन् । खास गरी पश्चिमा मुलुक र संस्थाहरूले बाइबल साक्षरता क्रियाकलाप गर्न मातृभाषा शिक्षामा लगानी गरिरहेका छन् । फेरि पहिचानवादी राजनीति गर्दैछौँ भन्नेहरू नै धर्मान्तरणका लागि सहयोगी बनेका धेरै प्रमाणहरू भेटिन्छन् ।
शिक्षाले रूपान्तरण र जीवन परिवर्तन गर्छ, त्यसैले हामीहरूले शिक्षित बन्नको लागि धेरै मेहनत गरिरहेका छौँ । तर समृद्ध नेपाल, सुखी नेपाली बनाउन शिक्षा नै मुख्य साँचो हो भन्ने कुरा अझै पनि हामीले बुझ्न र शिक्षाको चरित्र बदल्ने प्रयास गर्न सकिरहेका छैनौँ । हामीले बुझ्नुपर्थ्यो, शिक्षाले सबैको जीवनमा महत्त्वपूर्ण खेल्छ । शिक्षा आधारभूत मानव अधिकार पनि हो । शिक्षाले हामीलाई आत्मनिर्भर बनाउन सघाउँछ । शिक्षाले हामीलाई राम्रो करियर, राम्रो जीवनशैली र समाजमा राम्रो भूमिका र स्थिति पनि प्रदान गर्छ । यसर्थ सबैका लागि गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शैक्षिक क्रान्ति अनिवार्य आवश्यकता भएको छ ।
ध्वंसात्मक हुन, नकारात्मक र अराजक टिप्पणी गरिदिन सजिलो छ । तर आज रचनात्मक र आलोचनात्मक चेतनाको खाँचोलाई पूरा गर्ने शिक्षा तथा सामाजिक व्यवस्था र राजनीतिक अभ्यासले प्राथमिकता पाएन । नकारात्मक चेतनाले सकारात्मक अवस्थाको कल्पना गर्न कदापि सक्दैन भन्ने यथार्थ हामीले बुझ्न सकेनौँ । समस्या एकातिर छ तर समाधान अर्कातिर खोज्ने प्रयास भइरहँदा सामाजिक मनोविज्ञान सकारात्मक र रचनात्मक बनाउन सकिएन । त्यसैले सबभन्दा पहिला हाम्रा अभ्यास र शैलीहरूमा तत्काल सकारात्मक सुधारको आवश्यकता छ भने दीर्घकालका लागि शिक्षा व्यवस्थामा आमूल परिवर्तनको खाँचो छ । यो खाँचोलाई बुझ्न ढिलाइ भइरहेको छ ।
आजको शिक्षा व्यवस्थाले नागरिकलाई हरियो राहदानी बोकेर विदेशी भूमिमा आफ्नो श्रम, सीप र दक्षता प्रयोग गर्न प्रोत्साहित गरिरहेको छ । त्यति मात्र होइन, मौका मिल्यो भने पहिचान त्याग्न पनि सिकाउँदै छ । अर्थात् राज्यको नीति नै नागरिक निर्यात गरेर वस्तु आयात गर्नमा केन्द्रित भइरहेको छ । जबसम्म कुनै देशको शिक्षाले राष्ट्रका लागि नागरिक तयार गर्न सक्दैन तबसम्म त्यो देश समृद्ध बन्न सक्दैन । अहिले तीनै विदेश निर्यात भएका र पहिचान त्यागेका भूतपूर्व नेपाली नागरिकहरू राजनीतिलाई विषाक्त बनाउन सामाजिक सञ्जालहरूबाट गतिविधि गरिरहेका छन् । यसबाट हामीले बुझ्नुपर्छ, शिक्षा बिग्रिएर राजनीति बिग्रियो, राजनीति बिग्रिएर देश पनि बिग्रियो । त्यसैले शिक्षा व्यवस्थामा आमूल परिवर्तन विना न राजनीति असल बनाउन सकिन्छ न त देशलाई समृद्ध बनाउन सकिन्छ । यसर्थ अब पनि यथास्थितिमा सुधार खोजेर यही शिक्षा व्यवस्थामा लगानी गरिरहनु भनेको देश ध्वस्त बनाउन सघाउनु हो । तर यो यथार्थप्रति हामी मुख्य सरोकारवालाहरू गम्भीर हुन सकिरहेका छैनौँ ।
राजनीति देशमुखी र जनमुखी बनाउन शिक्षा पनि देशमुखी र जनमुखी हुनै पर्छ अन्यथा राजनीति विकृत भइरहन्छ अनि जनतामा वितृष्णा बढिरहन्छ । जनतामा खराबलाई बहिष्कार र असललाई अङ्गीकार गर्ने र क्षमताको विकास गर्ने मुख्य माध्यम गुणस्तरीय शिक्षा नै हो । अहिले त्यही गुणस्तरीय शिक्षाको अभावले गर्दा एकातिर नागरिकको मनस्थिति र अर्कातिर देशको परिस्थिति सकारात्मक बन्न सकेको छैन । त्यसैले यतिखेर मुख्य मुद्दा गुणस्तरीय शिक्षाका लागि शैक्षिक क्रान्ति नै हुनुपर्ने हो तर यो मुद्दाले अझै प्राथमिकता पाउन सकेको छैन ।
शिक्षाले हरेक नागरिकलाई वैश्विक नागरिक बनाउन सक्नुपर्छ । यहाँ वैश्विक नागरिक भनेको विदेशमा सजिलै प्रतिस्पर्धा गर्न सक्ने मात्र होइन, घर, समाज, देश र परदेशमा आवश्यकता अनुसार काममा प्रतिस्पर्धा गर्न सक्ने हुनु हो । तर अहिले वैश्विक नागरिक बनाउने हल्ला गरेर नेपाली युवालाई अपवाद छोडेर प्रायः सबैलाई विश्व बजारमा तल्लो स्तरको श्रम शक्तिका रूपमा निर्यात गर्ने उद्देश्यका साथ शिक्षामा लगानी गरिँदै छ । एक थरीलाई म्यानपावर कम्पनीमार्फत त अर्का थरीलाई एजुकेसन कन्सल्ट्यान्सीमार्फत निर्यात गर्ने काम भइरहेको छ । जसले गर्दा एकातिर विकास निर्माणलगायतका काममा दक्ष तथा अदक्ष श्रम शक्तिको अभाव भइरहेको छ भने अर्कातिर नेपालमाथि जनसाङ्ख्यिक अतिक्रमण बढाउने आधार तयार गरिँदै छ ।
नागरिकको चेतना, विवेक र क्षमताले देश चिन्नुपर्थ्याे, देशको विकासमा आफ्नो क्षमता तथा योग्यताअनुसार योगदान गर्ने मनस्थिति विकास गर्नुपर्थ्याे, गुण दोषका आधारमा असल र खराब छुट्याउन सक्नुपर्थ्यो, भ्रम र यथार्थबिचको अन्तर बुझ्नुपर्थ्यो, भावनात्मक भड्काउनबाट जोगिनु पर्थ्याे, जुन भूमिमा श्रम गर्यो वा पसिना बगायो त्यही भूमि उर्वर हुन्छ भनेर जान्नु पर् । अरूको लाखभन्दा आमा काख नै प्यारो हुन्छ भनेर मान्नुपर्थ्यो । आफ्नो प्रगति र प्रतिष्ठा अनि उन्नति खोज्दा देशको संवृद्धि कसरी हुन्छ भनेर चिन्तन गर्न सक्नु पर्थ्याे, । देशको सम्मान र पहिचान उँचो नबनाई आफ्नो सम्मान र पहिचान दिगो हुँदैन भनेर जान्नुपर्थ्यो । तर दुर्भाग्य नै भन्नुपर्छ, आजको हाम्रो शिक्षाले नागरिकमा त्यो ज्ञान, विवेक र क्षमता नै विकास गर्ने लक्ष्य लिएको पाइएन । जसले गर्दा नागरिक बढी व्यक्तिवादी र अवसरवादी बनेर क्रियाशील हुन रमाइरहेको अभ्यास तथा अनुभवहरूले देखाएको छ । यो अवस्थाको अन्त्यका लागि “हरेक व्यक्तिको भावनात्मक, भौतिक र मानसिक स्वास्थ्य ठिक हुनुपर्छ । यसका लागि व्यक्तिले प्राप्त गर्ने विचार अथवा शिक्षा, खाना र सूचना स्वस्थ अनि गुणस्तरीय पनि हुनै पर्छ।” भन्ने मान्यताबाट हामी निर्देशित हुनुपर्छ ।
हामीले बुझ्नुपर्छ, समृद्ध नेपाल, सुखी नेपाली बनाउन सबैका लागि गुणस्तरीय शिक्षाको भूमिका महत्त्वपूर्ण हुन्छ । यसका लागि शिक्षाको दार्शनिक पक्ष, राष्ट्रिय उद्देश्य, पाठ्यक्रम र माध्यम भाषाहरूको भूमिका विशिष्ट बनाउनुपर्छ । त्यसैले नेपालमा सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्न पूर्वीय दर्शन र हाम्रा भाषाहरूको प्रयोग मुख्य आधार हो भनेर स्वीकार गर्नुपर्ने बेला भएको छ ।
भनिन्छ, तपाईँले विद्यार्थीहरूलाई गणना गर्न सिकाउन सक्नुहुन्छ तर कुन कुराको गणना हुन्छ भनेर सिकाउनु अझ महत्त्वपूर्ण हुन्छ । अन्तमा नेल्सन मण्डेलाले भनेझैँ “सबै बालबालिकालाई गुणस्तरीय शिक्षामा पहुँच भएको संसार बनाउनु हाम्रो शक्तिभन्दा बाहिरको कुरा होइन ।” त्यसैले हामीले हाम्रो शक्ति चिन्न सक्नुपर्छ र सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्न शिक्षाको चरित्र, दर्शन, उद्देश्य, पाठ्यक्रम र अभ्यासहरूको पुनरावलोकन गरौँ । नयाँ नेपाल निर्माण गर्ने हो भने नयाँ शिक्षा व्यवस्था नै चाहिन्छ भनेर बुझौँ र बुझाऔँ । यसका साथै प्रशासनिक, न्यायिक, आर्थिक र सामाजिक संरचनामा आधारभूत संरचनात्मक परिवर्तन अनिवार्य भइसकेको तथ्यलाई स्वीकार गरौँ र राजनीतिलाई मात्र दोष दिएर पानी माथिको ओभानो नबनौँ । यसर्थ शिक्षाको चरित्र बदलौँ अनि देशको चित्र बदलिन थाल्नेछ भन्ने विश्वास र अठोटका साथ क्रियाशील हुन थालौँ ।
(चक्रपथ डटकममार्फत निरन्तर आफ्ना बिचारहरू राख्दै आउनुभएका लेखक कडेल मुटुमा समस्या आएपछि मुटुको शल्यक्रिया पश्चात् स्वास्थ्य लाभ गर्दै आउनुभएको छ । उहाँले बिरामी अवस्थामा पनि आफ्नो बिचारलाई पाठकमाझ ल्याउन प्रयत्नरत रहने कोसिस समेत गरिरहनुभएको छ । यस्तो बिरामी अवस्थामा पनि केही समय पश्चात् पुनः चक्रपथ डटकममार्फत आफ्नो लेखन कार्यलाई निरन्तरता दिनुभएकोमा चक्रपथ डटकम परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ । साथै लेखक कडेलको पूर्ण स्वास्थ्य लाभको कामना समेत गर्दछ । )
प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार ७ : ०० बजे
प्रतिक्रिया