सन्दीप लामिछानेको मुद्दा न्यायाधीश ढकालको इजलासमा, आजै फैसला आउनसक्ने

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा परेको छ।

काठमाडौँ जिल्ला अदालतले सम्भवतः आज सुनाउने फैसलाका लागि न्यायाधीश ढकालको इजलासमा पेशी तोकिएको हो । पेशी चौथो नम्बरमा छ । 

नेपाली राष्ट्रिय क्रिकेटका पूर्व कप्तान लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुन लागेको हो । बहस सकिएको खण्डमा आजै फैसला आउनेछ ।

अदालतको आदेश अनुसार पीडित किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक तथा क्रिकेटरहरूको बकपत्र गराउन छुटेको तथा सो कार्य गत बुधवार सम्पन्न भएपछि आजै फैसला हुन सक्ने बुझिएको छ । गत बुधवार चिकित्सक र  क्रिकेटरसहित ३ जनाको बकपत्र गराइएको थियो।

नाबालिग बलात्कारका मुद्दामा पुर्पक्षका लागि थुनामा समेत परेका लामिछाने उच्च अदालतको आदेशबाट रिहा भएका थिए । उनी जेल बाहिर नै बसेर अहिले मुद्दा लडिरहेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ११ : २७ बजे