चितवन – २ उपनिर्वाचन : मतदान सुरु

चितवन । चितवन क्षेत्र नं २ मा आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । 

क्षेत्रका सबै मतदान स्थलमा पूर्व तयारी भएकाले मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार अहिले बिहान ७ बजेबाट मतदान सुरु भएको छ । प्रक्रियाको क्रममा कतिपयमा दुई–चार मिनेट ढिला भए पनि निर्धारित समयमा मतदानका लागि कहीँ कतै समस्या नभएको उहाँले बताउनुभयो ।

यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदै छ । यहाँ एक लाख २४ हजार छ सय९५ जना मतदाता रहेका छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् । मतदानका लागि बिहान सबेरैदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसेका थिए ।  गर्मीका कारण बिहानैदेखि मतदाता मतदानका लागि  लाइनमा बसेका हुन् ।

यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली काँग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा ९एमाले०बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार हुनुहुन्छ । उहाँहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।

मुख्य प्रत्याशी तीन मध्ये काँग्रेसका श्रेष्ठले शक्ति खोरको चर्तुमुखी माध्यमिक विद्यालयबाट मतदान गर्दै हुनुहुन्छ भने एमालेका न्यौपाने  र रास्वपाका  लामिछानेको सो क्षेत्रमा मतदाता नामावलीमा नाम नरहेको जनाइएको छ । 

गत निर्वाचनबाट सो क्षेत्रबाट निर्वाचित रास्वपाका अध्यक्ष समेत रहनुभएका लामिछानेको नागरिकता विवादका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन हुन लागेको हो । 

जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचनका कारण यस क्षेत्रमा अत्यावश्यकबाहेकका सवारी रोकिएका छन् । 

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ७ : ५६ बजे