प्रचण्डको भारत भ्रमण अगाडी भारतले थाप्यो अत्तो,व्यापार तथा पारवहन सन्धि पुनरावलोकन गर्न दबाब

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको मिति तय नहुँदै भारतले अत्तो थापेको छ। दाहाल वैशाख २४ गतेदेखि तीन दिने भारत भ्रमणमा जाने  तयारीमा छन्।दाहालतकाे भ्रमण निजिकदै गर्दा  भारतीय पक्षले केही सन्धी सम्झौता पुनरावलोकन गर्नुपर्ने अत्तो थापेका छन्। भारतले भारतीय लगानी, उद्योग कारखानाको भौतिक सुरक्षाको प्रत्याभूती हुने गरी व्यापार तथा पारवन सन्धी पुनरावलोकन गर्नुपर्ने अडान राखेकाे हाे।

यसअघि प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सीमा विवाद र विद्युतलगायतका विषयमा छलफल गर्ने गरी एजेण्डा तय गर्ने तयारी थियो। तर भारतले भ्रमणको बेला व्यापार तथा पारवहन सन्धी पुनरावलोकन गर्न खाेजेकाे हाे । 

नेपाल भारत व्यापार तथा पारवहन सन्धीको धारा(११) अनुसार हरेक सात वर्षमा द्विपक्षीय सहमतिमा संशोधन गर्नैपर्ने सन्धीको प्रावधान रहेको छ। यदि नवीकरण नगरिएमा स्वतः नवीकरण हुने प्रावधान रहेको छ ।

२०७५ सालमा नेपाल भारतका सचिव स्तरीय बैठकले नेपाल भारत पारवाहन सन्धी संशोधन गर्ने सहमति भएको थियो। सहमतिमा नेपालको व्यापार घाटा कमगर्न द्विपक्षीय हित बमोजिम पारवहन सन्धि संशोधन गर्न सहमत भएका थिए।

भारतबाट वीरगन्जबाहेकका अन्य नाकाहरू विराटनगर, भैरहवा र नेपालगन्जबाट समेत बल्क कार्गो ल्याउन पाउने व्यवस्था, भारतको जलमार्गमा नेपाल-भारत द्विपक्षीय व्यापारको मार्ग (ट्रेड रुट) दिने एवं भारतमार्फत तेस्रो देशसँग हुने व्यापारमा पारवहन मार्गको रूपमा थप दुई बन्दरगाहा प्रयोग गर्ने व्यवस्था गर्दै सन्धी पुनरावलोकन गर्नुपर्ने नेपालको अडान रहेको छ।

नेपालले अहिले तेस्रो मुलुकबाट सामान आयात गर्दा कोलकाता  र बिशाखापटनम बन्दरगाहा मात्रै प्रयोग गर्न पाएको छ। नेपालले ब्यहोर्दै आएको व्यापार घाटा कम गर्न र तेस्रो मुलकबाट सामान आयात गर्दा थप दुई बन्दरगाहा प्रयोग गर्न दिन भारतीय पक्षले सन्धी पुनरावलोकनमा अनुदार बनेको स्रोतको दाबी छ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा समेत यी विषयहरुमा द्विपक्षीय हित अनुरुप सन्धी संशोधनमा कुनै पहल हुन सकेको थिएन।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ६ : ५१ बजे