प्रहरीले वैशाखदेखि असारसम्म तलब नपाउने, अरू सरकारी निकायमा पनि समस्या उस्तै

काठमाडौं । नेपाल प्रहरीले यही वैशाखदेखि असारसम्म तलब नपाउने सम्भावना छ । बजेट अपुग हुँदा प्रहरी कर्मचारीलाई तलब खुवाउन समस्या भएको हो । उनीहरूलाई एकैपटक आउँदो साउनमा तलब दिइने सम्भावना छ । 

चालु आर्थिक वर्षमा प्रहरी कर्मचारीको तलब १५ प्रतिशत बढाइएको थियो । प्रहरी प्रधान कार्यालयका अनुसार बढेको रकमबराबरको बजेट नआएकाले समस्या भएको हाे।
 त्यसाेत नेपाल प्रहरीमा चैत्र महिनाको पनि सबै प्रहरीले तलब सुविधा पाएका छैनन् ।  

प्रहरीमा हाल ७९ हजार ५०० बढी दरबन्दी छ । ७७ हजारजना कार्यरत छन् । पछिल्लो समय सरकारका सबै सरकारी निकायमा २० प्रतिशत खर्च कटौतीको प्रभाव पनि प्रहरीमा परेको छ ।

प्रहरी अधिकारीहरूका अनुसार खर्च कटौतीका कारण तालिमलगायत महत्त्वपूर्ण कामका लागि समेत बजेट अभाव हुन थालेको छ ।

प्रहरीमा गत वर्ष साउन १ गतेदखि नयाँ तलब स्केल लागु भएको थियो । हाल प्रहरी आईजीपीको तलब ६६ हजार ८६० रुपैयाँ छ । सबैभन्दा थोरै रिक्रुटले २१ हजार ४८० रुपैयाँ तलब पाउँछन् । प्रहरी प्रवक्ता एसएसपी दीपेन्द्र जिसीले तलब अभावबारे गृह मन्त्रालयलाई जानकारी गराइसकेको बताए ।
बजेट अभावले अरू सरकारी निकायमा पनि तलब सुविधा दिन समस्या भएको जनाइएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  २ : १७ बजे