प्रधानमन्त्रीसहित तीन पूर्व प्रधानमन्त्री आज चितवन जाँदै

काठमाडौँ । प्रधानमन्त्रीसहित तीन पूर्व प्रधानमन्त्री आज चितवन जाँदै हुनुहुन्छ । 

लोकतान्त्रिक बाम गठबन्धनले आज पूर्वी चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उहाँहरू चितवन जान लाग्नुभएको हो ।

वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको सन्दर्भमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका जितनारायण श्रेष्ठको चुनावी सभामा कार्यकर्तालाई सम्बोधन गर्न पार्टीका प्रमुखसहित मुख्य नेता चितवन  जान लाग्नुभएको हो । 

आज दिउँसो ३ बजे कालिका नगरपालिका–४ पदमपुरस्थित क्याम्पसको फुटबल मैदानमा चार दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उहाँहरू आउन लाग्नुभएको काँग्रेस चितवनका सचिव सूर्य अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उहाँहरू बाराको चुनावी सभालाई सम्बोधन गरेर चितवन आउन लाग्नुभएको हो । 

त्यस्तै, काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा,  नेता शेखर कोइरालालगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

कार्यक्रमको सबै तयारी पूरा भएको सचिव अर्यालले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले प्रधानमन्त्री हेलिकप्टरमा कालिका नगरपालिकामा आएर त्यहीबाट फर्कने कार्यक्रम रहेको बताउनुभयो । 

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  १० : ०६ बजे