दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपालले मलेसियालाई हरायो

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले सुखद सुरुवात गरेको छ । कीर्तिपुरस्थित टियु मैदानमा भएको उद्घाटन खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।नेपालका लागि भीम सार्की र कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले ।

भीमले ७१ रनको योगदान दिए । यस्तै, कुशल ७० रनमा अविजित रहे । यस्तै, कुशल भुर्तेलले ३८, रोहित पौडेलले ४२ रनको योगदान दिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई ३५ रनको योगफल बनायो । मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ९५ बल खेल्ने क्रममा आठ चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै वीरनदीप सिंहले ४६, मोहम्मद आमिरले १७, खिजार ह्यायातले २२, सैजरुल इद्रुसले २१ , विजय उन्नीले १२ तथा सायद अजिजले १३ रन बनाए ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन/तीन विकेट लिए । यसैगरी ललितनारायण राजवंशीले दुई तथा गुल्सन झाले एक विकेट लिए ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा भइरहेको प्रतियोगिता यही वैशाख ५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिवि मैदान र मूलपानीमा रहेको क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहने छ । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र युएई रहेका छन् ।

फाइनल खेलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ३ : ५७ बजे