साफ यू–१७ च्याम्पियनसिप आजदेखि

जनकपुरमा हरवाचरवाकाे आन्दोलन : माग पूरा नगरे सिंहदरबार घेर्ने चेतावनी

काठमाडौँ । न्यायिक पुनःस्थापनाको मागसहित हरवाचरवाहरूले आन्दोलन जारी राखेका छन् । हरवाचरवाहरूले आफ्नो अधिकार प्राप्तिका लागि मधेश प्रदेशमा अधिकार यात्रा जारी गरेका हुन् ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७९ साउन २ गते हरवाचरवा प्रथा अन्त्य भएको घोषणा गरेका थिए । हरवाचरवा प्रथा अन्त्य घोषणा गरे पनि कार्यान्वयनमा आउन नसक्दा हरवाचरवा समस्यामा छन् । वर्षौंदेखि उत्पीडनमा परेका हरवाचरवाहरूले प्रधानमन्त्रीको घोषणापछि पनि सो प्रथाबाट मुक्ति पाउन नसकेपछि आफ्नो माग सम्बोधन गराउनका लागि अधिकार यात्रा गरेका हुन् ।

दुई समूहमा विभाजन गरी सप्तरीको राजविराजबाट सुरु भएको पहिलो समूहको सो यात्रा लहान, बस्तीपुर, गोलबजार, औरही, गणेशमान चारनाथ, शहिदनगर हुँदै मंगलबार जनकपुरधाम पुगेको थियो । यता वीरगञ्जबाट निस्केको अर्को टोली पनि बहुदरमाई, जितपुर, कलैया, करैयामाई, कोल्भी, बलचनपुर, गरुडा, गौर, मंलगवा, व्रह्मपुरी, जलेश्वर हुँदै जनकपुरधाम आएर प्रदर्शन गरेका हुन् ।सरकारले हरवाचरवाको मुक्ति घोषणा गर्दै उनीहरूको पुनःस्थापनाका लागि लागत संकलन, सत्यापन, परिचयपत्र वितरण, पुनःस्थापना, सामाजिक विभेदको अन्त्य, मर्यादित जीवन, सामाजिक सशक्तीकरण, समावेशीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाका मुद्दा सम्बोधन गर्ने प्रतिवद्धता जनाएको थियो । यसका लागि भूमि व्यवस्था मन्त्रालयले कार्यविधि र कार्ययोजना निर्माण गरेपनि कार्यान्वयनमा आउन  सकेकाे छैन ।

अधिकार यात्रा सम्पन्न भए लगत्तै राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले दोस्रो चरणको कार्यक्रम सार्वजनिक गरेको छ । दोस्रो चरणको कार्यक्रम अन्तर्गत हरवाचरवा अधिकार यात्राको समीक्षा तथा सन्देश प्रवाह गर्ने, हरवाचरवा बाहुल्य पालिकामा आगामी नीति तथा कार्यक्रमका साथै बजेटका लागि सुझाव बुझाउने, प्रधानमन्त्रीलाई हरवाचरवाको समस्याको विषयमा ध्यानाकर्षण गराउने, माग पूरा नभए पहिलो चरणमा पालिका, दोस्रो चरणमा मधेशको राजधानी र तेस्रो चरणमा संघीय राजधानीसम्म पैदल यात्रा गर्ने जनाएको छ । 

 आफ्ना माग पुरा नभए  सिंहदरबार घेर्ने चेतावनीपनि उनिहरुले दिएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ३ : १९ बजे