पर्यटकीय गतिविधि बढाउन चितवनमा प्याराग्लाइडिङ

चितवन । चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ । 

हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको हो ।

जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी प्याराग्लाइडिङ सुरु गरिएको कम्पनीका अध्यक्ष विजयबहादुर घलेले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका–२९ चौकी डाँडाबाट प्याराग्लाइडिङ उडान थालिएको हो । 

यहाँ जङ्गल सफारीका लागि अत्यधिक पर्यटक आउने गरेका छन् । समुद्री सतहबाट एक हजार दुई सय मिटर अग्लो स्थानबाट उडान गर्न लागिएको हो । 

विगत तीन वर्षदेखिको अध्ययन अहिले आएर पूरा भएको उहाँले बताउनुभयो । प्याराग्लाइडिङमा एक सय २० किलो तौलभन्दा कम तौल भएकालाई मात्र उडान भर्न सकिने उहाँले जानकारी दिनुभयो ।

चितवनको चौकी डाँडाबाट प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण गर्ने गरी प्याराग्लाइडिङको उडान सुरु गरिएको हो । कम्पनीका सञ्चालक सालिक दवाडीले पर्यटकका लागि नयाँ गन्तव्यको खोजी गर्ने क्रममा प्याराग्लाइडिङ सुरु गरिएको बताउनुभयो । यस क्षेत्रमा निकट भविष्यमा रोप साइक्लिङ, बन्जी जम्पजस्ता गतिविधि गर्ने योजना रहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “चौकीडाडाँमा चौकी डाँडा रिसोर्टसमेत निर्माण गरेर यहाँको पर्यटन प्रवर्द्धनमा काम गर्ने योजना छ ।” विसं २०८० को सुरुआतसँगै उडान सुरु गरिएको बताउँदै उहाँले चितवनको पर्यटन विकासमा टेवा पुग्ने  बताउनुभयो । 

यस क्षेत्रबाट उडान गर्दा २० देखि ३० मिनेटको समय लाग्ने उहाँले बताउनुभयो । कम्पनीले उडानका लागि कविलास डाँडाबाट समेत अनुमति पाएको छ ।

प्याराग्लाइडिङ उडानका लागि लाग्ने रु आठ हजार तोकिएकामा अहिले २५ प्रतिशत छुट दिएर रु छ हजार शुल्क लिइएको दवाडीले बताउनुभयो । हाल नौ वटा प्याराग्लाइडिङ उडानका लागि ल्याइएका छन् । दैनिक ४५ जनासम्मलाई उडान गर्न सकिने गरी तयारी गरिएको दवाडीले जानकारी दिनुभयो ।

नेपाल प्याराग्लाइडिङ सङ्घका महासचिव शैलेन्द्र राउतले विसं २०१५ मा विदेशीले यहाँ उडान भरेको बताउनुभयो । पोखरा र यहाँमा छुट्टै विशेषता रहेको उहाँको भनाइ छ । 

पोखरामा ताल माथि उड्ने, हिमाल देखिने लगायतका कारण छुट्टै रमाइलो रहेको बताउँदै उहाँले यहाँको नागबेली परेको सडक र त्रिशूली नदीमाथिको उडानले अझै महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वाटर स्पोर्ट र एयर स्पोटलाई जोडिने ठाउँ रहेको छ ।” चितवन हिँड्ने पर्यटकलाई एक दिनको प्याकेज रूपमा दिन सकिने बताउनुभयो । यो प्याराग्लाइडिङका लागि उत्कृष्ट गन्तव्यका रूपमा रहेको उहाँले बताउनुभयो ।

प्याराग्लाइडिङका चालक सञ्जय गौतमले यहाँ उडानका लागि उपयुक्त हावा र स्थान रहेको बताउनुभयो । विगत सात वर्षदेखि अनुभव सँगालेका चालकबाट उडान गरिने प्याराग्लाइडिङबाट डाँडाकाँडादेखि खोलानालाको सुन्दर दृश्य हेर्न सकिने भएकाले यहाँ उडानका लागि राम्रो रहेको उहाँले बताउनुभयो ।

नारायणगढ–मुग्लिन सडक खण्डको भोर्लेबाट नौ किलोमिटर उत्तर र जुगेडीबाट पाँच किलोमिटर उत्तर हिँडेपछि चौकी डाँडा पुग्न सकिन्छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जिल्ला आउने पर्यटकका लागि फरक अनुभव लिने गरी भरतपुरमा प्याराग्लाइडिङ सुरु भएको बताउनुभयो । नेपाल आउने पर्यटकका लागि सबै खालका पर्यटक रमाउन सक्ने गरी भरतपुरमा पर्यटन प्रवर्द्धनको काम भइरहेको उहाँको भनाइ छ ।

सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउन गइरहेको भन्दै उहाँले साहसी पर्यटनका लागि प्याराग्लाइडिङ उपयुक्त हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटकको बसाइ लम्ब्याउनका लागि यो प्याराग्लाइडिङ उपयोगी हुन्छ ।” पर्यटनका हिसाबले भरतपुर महानगर देशको महत्त्वपूर्ण पालिकाको रूपमा विकास हुँदै गएको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिकामा सफारीका लागि आउने पर्यटकदेखि धार्मिक हुँदै साहसिक पर्यटकका लागि समेत यो नयाँ गन्तव्य बन्ने भएको छ । रासस

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ११ : ४४ बजे