नयाँ वर्ष : नयाँ सोच र जिम्मेवारी

नेपालगञ्ज । ‘नयाँ’ शब्द आफैँमा खुसी, उत्साह र रहस्यले भरिएको हुन्छ ।  नयाँ वर्ष आजदेखि सुरु भएको छ । विक्रम संवत्लाई आधार मानी हरेक वर्षको वैशाख १ गतेलाई नेपालमा नयाँ वर्षका रुपमा मनाउने प्रचलन छ । नेपालमा खास जाति विशेषका बेग्लै नयाँ वर्षहरू मनाइँदै आइए पनि विक्रम संवत् नै सबै नेपालीको साझा बन्दै आएको छ । विक्रम संवत् हिन्दू पञ्चाङ्गमा आधारित राष्ट्रिय पात्रो हो । जुन प्राचीन हिन्दू परम्परा र वैदिक समय अङ्कनमा आधारित छ  । 

विक्रम संवत् अङ्गे्रजी पात्रोभन्दा झन्डै ५६ वर्ष आठ महिना १५ दिन अगाडि छ । सूर्यसँग सम्बन्धित भएकाले यसमा ग्रह, नक्षत्रका नाम पनि महिनासँग सम्बन्धित छन् । विश्वका सबै मुलुकमा एउटा नयाँ वर्ष हुन्छ र सबैको भलो होस् भन्ने भावनाका साथ नयाँ वर्ष मनाउने चलन हुन्छ । नयाँ वर्षको पूर्वसन्ध्यामा विश्वभर छरिएर रहेका नेपालीहरुले एक आपसमा शुभकामना दिन सुरु गरिसकेका छन् । विशेषतः आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन, घुमफिर र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिन्छ । नयाँ वर्षमा विभिन्न नयाँ काम सुरु गर्ने र विभिन्न शक्तिपीठमा दर्शन गर्ने पनि चलन छ । 

नयाँ सोच 

हामीसँग २०७९ सालले बिदा लिएको छ । वर्षले बिदा लिइरहँदा वर्षभरि भए÷गरेका घटनाको स्मरण गर्ने र समीक्षा गर्ने पनि गरिन्छ । वर्षभरि हामले के कस्ता काम ग¥यौँ रु कति सफल भयौँ, कति असफल रु के कस्ता चुनौती आइलागे रु ती चुनौती पार गर्न के कस्तो पहल ग¥यौँ रु थप सफलताका लागि के गुर्नपथ्र्यो रु के गर्नुपर्छ आदि जस्ता विषयको गहन मनन, समीक्षा गर्नुपर्छ भन्ने लाग्दछ । स्वयंले स्वयं (बानी/व्यहोरा) को समीक्षा गर्न पनि जरुरी छ । साथै आगामी कामको योजना बनाउने र पूरा गर्न प्रतिबद्धता गर्ने दिन पनि हो आज । 

नयाँ वर्ष भन्ने बित्तिकै नयाँ जोस, नयाँ सोच र नयाँ उमङ्ग थपिनु स्वाभाविक हो । त्यसमाथि मानिस आशावादी हुन्छ । आशाले भविष्य निर्माणलाई सघाउन मद्दत गर्छ । जीवनलाई डो¥याउन विगत बिर्सेर भविष्यप्रति आश्वस्त हुनैपर्छ । सुन्दर भविष्य निर्माणका लागि थुप्रै काम गर्नुपर्ने हुन्छ । धेरैले आफ्नो कार्य योजना, कार्यान्वयनको स्पष्ट खाका र त्यो पूरा गर्ने सपना बुनेका हुन्छन् । त्यति मात्रै होइन, नयाँ वर्षमा एकले अर्कोलाई ती सपना पूरा होऊन् भन्ने कामना गर्ने पनि गरिन्छ । त्यो कामना लागू गर्न स्वयं क्रियाशील हुन भने जरुरी छ । भनिन्छ– ईश्वरले पनि ‘तँ आँट म पु¥याउँछु भन्छन् रे’ । तसर्थ नआँटीकन÷ नगरीकन केही पूरा हुँदैन । सुन्दर भविष्यको कल्पना र त्यो साकार गराउने सोच स्वयम्मा ल्याउन जरुरी छ । 

नयाँ वर्षको स्वागत गरिरहँदा निराशा, आक्रोश र नकारात्मक सोचलगायतका प्रवृत्ति त्याग्नु पर्दछ । काम गर्न सबैले जानेका हुन्छन् तर कुन सोच/तरिका (फरकपन) ले गर्ने भन्ने कुरा नै महत्वपूर्ण हुन्छ । नयाँ सोच र फरक तरिकाले काम गर्ने नै सफल व्यक्ति बनेको उदाहरण पाइन्छ । नयाँ सोचले नै जीवन जिउने भरपर्दो कला सिकाउँछ । त्यसैले नयाँ वर्षलाई सबैले सकारात्मक सोचका साथ स्वागत गरौँ, अवलम्बन गरौँ। यसले वर्षभर नयाँ सोच सिर्जना गर्न र आपसमा सद्भाव कायम राख्न मद्दत पुग्नेछ भन्ने कामना गरौँ ।  

नयाँ जिम्मेवारी 

नयाँ समयले नयाँ चुनौतीसँगै नयाँ जिम्मेवारी पनि दिन्छ  । शुभकामना दिनुलाई सामान्य अर्थमा लिइए पनि यसको गहन अर्थ र व्यापकता छ । शुभकामना आदन–प्रदानलाई अचेल बढ्ता औपचारिकता दिएजस्तो देखिए पनि यसले वास्तवमा जिम्मेवारीबोध गर्न उद्यत गराउँछ । शुभकामना दिने र लिने विषय मात्र हैन, यसलाई जिम्मेदारीका साथ मनन गर्ने, कार्यान्वयन गर्ने आँट पनि देखाउनु पर्दछ । काममा शुभ हुन् या शुभ बनाउनका लागि शुभ काम गर्न जरुरी छ । 

नयाँ वर्षलाई स्मरणीय र ऐतिहासिक बनाउन हरेकमाझ चुनौतीसँगै अवसर पनि छन् । अनेकन आरोह अवरोहबीच हरके मान्छेलाई अवसरहरु आइरहन्छन् । तथापि तिनलाई चिन्न र छोप्न सक्नुपर्दछ । त्यस्तै अवस्था अहिले नेपालीमाझ छ । परिस्थितिले हामीलाई नयाँ र महत्वपूर्ण अभिभारा दिएको छ । देश आर्थिक सङ्कटोन्मुख छ । नयाँ सरकार निर्माणसँगै केही आशा गरिए पनि निराशाको चाङ भने घटिसकेको छैन । कठिन घडीमै मान्छेको मूल्याङ्कन हुन्छ । समयको परिवर्तनलाई आत्मसात् गर्न सके मात्रै देश, सरकार र नागरिकले आफूलाई स्थापित गराउन सक्छन् । राजनीतिक नेतृत्वले मात्र हैन, हरेक नागरिकले यतिबेला कुशल नेतृत्व क्षमता र जिम्मेदारिता देखाउनुपर्ने आवश्यकता छ ।  

असन्तुष्टिलाई आशामा बदल्ने काम सरकार र दलका नेताहरुको मात्र हैन, हामी सबैको हो । हाम्रो समस्या हामी आफैँले समाधान गर्ने हो । जहाँ समस्या छ, त्यहीँ समाधान पनि हुन्छ । त्यहीँबाट संवादको थालनी गर्नुपर्छ । बाहिरबाट समस्याको समाधान खोजिनु हुँदैन । घरभित्रको समस्या घरभित्रै खोजिए । त्यसले दिगो र परिपक्व समाधान दिन सक्छ । बाहिरबाट खोजिएको समाधान राष्ट्रिय स्वार्थसँग मेल नखाने सम्भावना रहन्छ । हिजो दश वर्षको सशस्त्र युद्धको समाधान आन्तरिक रुपमै खोजिएको उदाहरण हामीसँग छ । आपसी विश्वास र सहकार्य बिना राजनीतिले निकास पाउँदैन, जनताले विकास पाउँदैनन् । जहाँ इच्छा त्यहीँ उपाय भने झैँ समस्या समाधान गर्ने चाहना राख्न सक्नुपर्छ । सबैले आ–आफनो दायित्व र जिम्मेवारी सम्झिनुपर्ने हुन्छ । हरेकमा जनता र देशप्रतिको दायित्वबोध हुन जरुरी छ । नयाँ वर्षले हामी सबैलाई नयाँ जिम्मेवारी बहन गर्ने सोच र शक्ति देओस् । 

अन्तमा
समय परिवर्तनशील छ । हाम्रो जीवन पनि परिवर्तित छ । मान्छे स्वयं पनि परिवर्तनकारी हो । राजनीति पनि परिवर्तित छ । आजको पुस्ताले विभिन्न राजनीतिक परिवर्तनहरु भोगेको छ । तर पनि धेरैको जीवन पद्धतिमा खास परिर्वतन भएको पाइएको छैन् । महिनासँगै वर्ष फेरिए तर धेरैको जीवन फेरिएको छैन । जनता सधैँ परिवर्तनको पक्षधर भए पनि परिवर्तनको अनुभूत गर्न सकिरहेका छैनन् । जो कोही पनि भविष्यप्रति आशावादी हुन्छ, हुनै पर्छ । तथापि, त्यो आशालाई विश्वासमा रुपान्तरण गर्ने काम राजनीतिक दल र सरकारको हो । असल राज्य प्रणालीको हो । 

राजनीतिक दलहरुबीचमा थुप्रै असहमति होलान् । तर शान्ति/सुरक्षा, नागरिकअधिकार, सामाजिक विकास जस्ता आधारभूत सवालमा दल र नेतागणले साझा धारणा बनाउन सक्नुपर्छ । सरकार र दलका राम्रा काममा नागरिकले पनि साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउनुपर्छ । दैनिकी जीवनमा असर पर्ने खालका आन्दोलन÷गतिविधि कहीँ कतैबाट पनि हुनु हुँदैन । यस्ता गतिविधिले पश्चाताप/क्षति सिवाय केही दिँदैन । विगतका गल्ती कमजोरीलाई सच्याउँदै आइन्दा नगर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुपर्दछ । नयाँ वर्ष २०८० सबैका लागि सुखद होस्– यही शुभकामना ।

(लेखक शुक्रऋषि चौलागाई नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश उपाध्यक्ष हुनुहुन्छ)

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ३ : ३९ बजे