‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नयाँ वर्ष साँच्चिकै नवीन बनोस् 

काठमाडौँ । आजदेखि नयाँ वर्ष २०८० को आगमन भएको  छ । यो २०७० को दशकको अन्त्य र २०८० को दशकको सुरुवात पनि हो । 

पक्कै पनि नयाँ वर्ष २०८० हाम्रा अगाडी एउटा किताबको खाली पाना जसरी नै आएको छ । अब हामीले हाम्रो त्यो पानामा आफ्नो सुन्दर कथा लेख्नु छ । हाम्रो सुन्दर कथाका लागि आजैबाट हामीले निश्चित लक्ष्य निर्धारण गर्नुपर्दछ ।

हो यो नयाँ वर्षमा पनि हामीले सधैँ झैँ ३६५ दिन नै पाउने छौँ  । फरक यो हो की, ती दिनहरूलाई हामीले कसरी अघि बढाउने छौँ । अतः नयाँ वर्षको यो पावन अवसरलाई केवल नयाँ वर्ष मात्र नसोची हामीले हाम्रो लागि नयाँ अवसरका रूपमा आएको बुझ्नुपर्दछ । 

गएको वर्षले हामीलाई केही तिता र मिठा अनुभवहरू पक्कै दिएर गएको छ । पक्कै पनि हाम्रा तीता अनुभवहरू सधैँका लागि रहिरहँदैनन् । हाम्रा तिता अनुभवलाई हामीले विगतकै टोकरीमा फालेर हामीले नयाँ वर्षलाई नयाँ उमङ्ग र जोसका साथ स्वागत गर्नै पर्दछ ।  नयाँ वर्षलाई खुसीले स्वागत गरौँ । यो जीवनमा राम्रो गर्न आएको अर्को अवसरको आगमन हो । 

नयाँ वर्ष र नयाँ दशकलाई स्वागत गरिरहँदा पक्कै पनि हामीले अघिल्लो दशक र अघिल्लो वर्षलाई गम्भीर समीक्षा गर्न जरुरी छ । पक्कै पनि समग्रमा  ७० को दशक आम नेपालीको लागि त्यति सुखद रहन सकेन । नाकाबन्दीको मार, महाभूकम्प, कोरोना महामारीजस्ता अनेकौँ प्रकोप, रुस युक्रेन युद्धको असर  र राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेथिति  झेल्न यो बीचमा हामी बाध्य भयो । यी सबै हिसाबले  ७० को दशक आम नेपालीहरूका लागि त्यति सुखद हुन सकेन । यस बीचमा राष्ट्रिय पुँजी पलायनदेखि युवा पलायन हामीले भोगिरहेका दुखद परिघटनाहरू र नियतिहरू हुन्  ।

संविधान निर्माण र दुई स्थानीय तह र प्रादेशिक निर्वाचन, तीन तहका सरकारलगायत केही महत्त्वपूर्ण उपलब्धि यो बीचमा भए पनि पनि राजनीतिक, आर्थिक, प्रशासनिक, सामाजिक अनेक दृष्टिले यो दशक हाम्रा लागि प्रतिकुलतामै बित्यो ।  वर्ष २०७९ को कुरा गर्ने हो भने त  यो वर्ष हामी नेपालीहरूका लागि झनै दुःखद हुन पुग्यो ।  समग्र अर्थतन्त्र यो दशककै कमजोर बन्ने वर्ष रूपमा यो वर्ष परिचित बन्न पुग्यो । बाह्य क्षेत्रको प्रतिकूलता  र  घरेलु राजनीतिका असफल चालकका कारण मुलुकले कहिल्यै भोग्न नपरेको आर्थिक मन्दी यत्तिखेर खेप्न बाध्य छ ।  आम नेपाली जनताले चाहेको सुशासन, विकास र समृद्धिको सपना  पनि यो वर्ष त्यतिकै व्यर्थ बन्न पुग्यो ।  

यो वर्ष हाम्रो आर्थिक सूचकहरू नराम्ररी खलबलिन पुगेका छन् ।  अस्थिर सरकारका कारण यो वर्ष मुलुकले लिइएका कुनै पनि लक्ष्यहरू पूरा हुन सकेनन्  ।  राष्ट्रिय अर्थतन्त्र नराम्रोसँग धरमराउन पुगेको यो वर्षमा विदेशी मुद्रा सञ्चितिमा चाप, तरलता अभाव, चर्को ब्याजदर, उच्च मूल्यवृद्धि, खस्किँदो सरकारी राजस्व, न्यून विकास खर्च, आकासिँदो बजेट वैदेशिक व्यापार घाटालगायतका अनेकौँ समस्या देखिए । 

नयाँ वर्ष र नयाँ दशकको यो सुरुवातमा हामीले अब गम्भीर समीक्षा गर्न जरुरी छ । इतिहासमा कहिल्यै नहारेको नेपाली मनले आज किन रोग, भोग, अशिक्षा, गरिबी, पछौटेपन जस्ता आम मानिसका शत्रुलाई परास्त गर्न सकेन? किन आज हामी अरूको आस र ऋणको भोको छौँ ? सन्तुलित वित्तीय र मौद्रिक व्यवस्थापनमा किन सरकार चुक्यो ? अर्थतन्त्रका तीन वटै स्तम्भ सरकारी, निजी र सहकारी क्षेत्र किन यसरी खलबलिन पुगे ? समग्र आर्थिक क्षेत्र नै किन धराशायी बन्यो ?

दिन पछि रात र हिउँद पछि वर्षा भए झैँ पुरानो वर्ष पछि नयाँ वर्षको आगमन निश्चित छ । हामीलाई समयको गतिले विगतलाई बिर्साउने मात्र होइन विगतबाट सिकेका अनुभव र शिक्षाले आउने दिनमा सही बाटोमा हिँडाउन सिकाउँछ । बितेका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय घटनाले चोट र पीडा मात्र नदिएर केही सिक्ने, बुझ्ने र सुध्रिने सन्देश हामीलाई पक्कै दिएको छ ।  भनिन्छ‘ बिहानीले नयाँ अवसरको ढोका खोलेर आउने गर्दछ । हामीले विगतलाई सही समीक्षा गर्न सक्यौँ भने पक्कै पनि नयाँ वर्ष हामी सबैको लागि सुखद र फलिफाप वर्ष हुनेछ । नयाँ वर्ष हाम्रो लागि सबै थोक पुनः राम्रो तरिकाले सुरुवात गर्ने अवसर हो, तसर्थ यो वर्ष हामी सबैलागि सुखद बनोस्, सबै सबैमा शुभकामना ।

पक्कै पनि नयाँ वर्षले हामीलाई उत्साह थप्ने र केही नयाँ जिम्मेवारी बोधका साथ प्रस्तुत हुन प्रोत्साहित गर्ने गर्दछ । हरेक मानिसले जीवनको परिवर्तनका लागि केही गरूँ भन्ने भावना लिइरहेका हुन्छन् । तर, वास्तविक जीवनमा परिवर्तन ल्याउन सकिरहेका हुँदैनन् । दुर्व्यसनीमा फसेकाहरूले भोलिदेखि नै कुलत छोड्छु भनेर अठोट गर्ने गर्दछन् तर उनीहरूले त्यो भूमिका निर्वाह गर्न सकिरहेको हुँदैनन् । सुर्तीजन्य पदार्थ मदिरा आदि सेवन गर्ने मानिसले पनि नयाँ वर्षका दिनबाट सुर्तीजन्य पदार्थको सेवन गर्दिन भन्ने सोच बनाइरहेका हुन्छन् । नयाँ वर्षको आगमनलाई कुरेर कैयौँ मानिसहरू आफ्ना कमजोरी र खराबपनलाई त्याग्छु भन्दै अठोट गरेर पर्खिबसेको  हुन्छन् । तर सकिरहेका हुँदैनन् । अतः यस्ता अनेकन् भावनालाई पखाल्दै मानिसले घर समाज र देशमा नै परिवर्तन ल्याउने वर्ष २०८० बन्न पर्दछ । 

खासमा नयाँ वर्ष आफैले कुनै नयाँपन ल्याउने होइन । मानिसले नै नयाँ उत्साहका साथ आफूमा परिवर्तन ल्याउँदै जाने हो । नयाँ वर्षसँगै प्रत्येक व्यक्तिले आफूमा कुनै न कुनै विषयमा समाज र देशको विकास वा सुधारका लागि एउटा मात्र नवीन कार्यको थालनी गर्न सक्यो भने उसले आफ्नो जीवन मात्र होइन अरूलाई समेत नयाँ शिक्षा दिन सफल रहन्छ । 

धेरै मनोवैज्ञानिकहरूको यो  विश्वास छ की  कि, धेरैजसो मानिसहरू आफ्नो वाचामा सफलता पाउन एकदमै असफल छन् ।  पात्रोको पाना पल्टाएर नयाँ व्यक्ति बन्न र अठोट गर्न जति सजिलो छ साँच्चिकै त्यो बन्न र त्यसका नियम पालना गर्न त्यतिकै कठिन छ । नयाँ वर्षमा  लिइएको सङ्कल्प एक राम्रो विचार हो। अतः हामीले हाम्रो सङ्कल्प पुरा गर्न तनमन बचनले लाग्नै पर्ने हुन्छ । 

नयाँ वर्ष प्रत्येक नेपालीहरूका घर घरमा विकासको सुनौलो बिहानी बनेर सधैँ आइरहने वातावरणको निर्माण गर्न हाम्रो तत्परताको निकै खाँचो रहन्छ ।

प्रत्येक नेपाली मन पवित्र हुनु नै मुलुक सुशासनको मार्गमा अगाडि बढ्नु हो । राजनीतिकर्मी, बुद्धिजीवी, व्यापारी, कर्मचारी, पेसा विद्, विद्यार्थी, आम नागरिक चरित्रवान् हुनु भनेको नयाँ बिहानीको सुरुवात हुनु हो । 

नयाँ वर्ष सबैको लागि मङ्गलमय होओस् । यो वर्ष सबै किसिमका रोग व्याधिबाट नेपालीहरू सुरक्षित रहुन् । देशले भोगेको आर्थिक मन्दी सुध्रियोस्, जनजनले चाहेको सुखी नेपाली र समृद्ध नेपालको सपना पुरा होस् ।  नयाँ वर्षको पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठक, लेखक, सम्वाददाता, स्तम्भकार तथा शुभचिन्तकहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  १० : ५३ बजे