राजनीतिक स्थिरता बिना विकास र समृद्धिका कार्यक्रमहरू अघि बढ्न सक्दैनन् : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बलियो राष्ट्रिय शक्ति निर्माणले नै राष्ट्र हितको रक्षा र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्रतिकूलका दुश्प्रयासहरुलाई परास्त गर्दै विकास र समृद्धि तर्फको यात्रामा मुलुकलाई अघि बढाउन सम्भव हुने बताउनुभएको छ । 

नयाँ वर्ष २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष ओलीले विकास र समृद्धिका लागि जनतालाई आफू र आफ्ना सन्ततिको सुनिश्चित भविष्यप्रति आश्वस्त बनाउनुपर्ने बताउनुभयो । 

उहाँले जनतामा पैदा भएको निराशा चिर्दै बलियो राष्ट्रिय शक्तिमार्फत मुलुकलाई अघि बढाउन नेकपा (एमाले) सक्रिय रहेको उल्लेख गर्नुहुँदै बितेको वर्षका अन्तिम दुई महिना नेकपा (एमाले)लाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न 'मिसन ग्रासरुट' अभियान थालनी गरेको बताउनुभयो । अध्यक्ष ओलीले सिद्धान्तहीन सिन्डिकेटको राजनीतिबाट मुक्त गर्दै जनताको निराशा चिर्न, सुशासन, विकास र राष्ट्रिय हितको रक्षा गर्न नेकपा (एमाले)लाई बलियो बनाउन मिसन ग्रासरुट अभियानले मद्दत पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

एमाले विरुद्ध महागठबन्धन निर्माण गरी भएको चुनावमा पनि जनताको विश्वासका कारण नेकपा (एमाले) पहिलो लोकप्रिय राजनीतिक दलको रूपमा रहन सकेको उल्लेख गर्नुहुँदै अध्यक्ष ओलीले अस्थिरताको लाभ लिएर राजनीतिलाई विकृत तुल्याउने र राजनीतिलाई झन् अन्योलपूर्ण बनाउँदै मुलुकको विकास र समृद्धिको यात्रा बिथोल्ने प्रवृत्तिलाई निस्तेज पार्न एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्ने बताउनुभयो । 

उहाँले मुलुक निर्माणको सुस्पष्ट दृष्टिकोण, दिशा र कार्यक्रम रहेको पार्टी एमालेलाई बलियो नबनाई राजनीतिक स्थिरता सम्भव नरहेको उल्लेख गर्नुहुँदै  राजनीतिक स्थिरता बिना विकास र समृद्धिका कार्यक्रमहरू अघि बढ्न नसक्ने  पनि बताउनुभयो । 

उहाँले नयाँ वर्षका अवसरमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्ने नेकपा एमालेको गन्तव्यमा साथ र सहयोग प्रदान गर्न आम देशवासी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आह्वान समेत गर्नुभयो । 

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ७ : ३८ बजे