बैतडीमा जीप दुर्घटना, ६ जनाको घटनास्थलमा नै मृत्यु

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । 

बैतडीको झुलाघाटबाट बझाङको बाग्थला जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप पाटन नगरपालिका ८ झौलेकमा गए राती ११ः०० बजे दुर्घटना भएको हो । 

मृत्यु हुनेमा बझाङको केदारस्यू गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् ।

जयपृथ्बी राजमार्ग अन्तरगत पर्ने झौलेक मोडस्थित उकालोमा ब्रेक फेल भएर जिप दुर्घटना भएको अनुमान रहेको छ। जिप  सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

बैतडी प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी र प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाही राती नै घटनास्थल पुग्नुभएको थियो । घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।

दुर्घटनामा जीपको पछाडि सवार ५ जना हाम फालेर बाच्न सफल भएको प्रहरीको भनाई छ । जीपमा चालकसहित १२ जना रहेको बताइएको छ ।

जीप चालक भने सम्पर्क विहीन रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ६ : ३८ बजे