कोरोना संक्रमण बढेपछि सुदूरपश्चिमका सीमा नाकामा कडाई

धनगढी ।  सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रम दर बढ्न थालेपछि प्रदेश सरकारले भारतसंग जोडीएका सीमा नाकामा स्वास्थ्य चेकजाँचमा कडाई गरेको छ ।

पछिल्लो समय भारतबाट आउने नागरिकमा कारोना संक्रम देखिन थालेपछि स्वास्थ्य चेकजाँचमा कडाई गरिएको सामाजिक बिकास मन्त्रालयका प्रबक्ता तथा बरिष्ट स्वास्थ्य शिक्षा प्रशासक नरेन्द्र सिंह कार्कीले बताउनुभयाे ।

‘अहिले भारत संग सीमाना जोडिएका प्रदेशका सवै नाकामा स्वास्थ्य चेकजाँचमा कडाई गरिएको छ,’ कार्कीले भन्नुभयाे, ‘रोग लागेका व्यक्तिलाई अन्य यात्रुबाट छुट्टै राखेर उनिहरुको गन्तव्य स्थान सम्म जान सुझाव पनि दिइरहेका छौं ।’ पछिल्लो समय देखिएको संक्रमण कोरोनाको ओमिक्रोनको ‘एक्स बीबी’ भेरियन्ट हुन सक्ने उहाँले बताउनुभयाे । भारतमा ओमिक्रोनको ‘एक्स बीबी’ भेरियन्ट तिब्र रुपमा फैलिरहेको हुँदा अहिले देखिने संक्रमितमा पनि सो भेरियन्ट सक्रिय हुन सक्ने उहाँले बताउनुभयाे । 

‘यो ओमिक्रोनको रुपान्तरित भेरियन्ट हो,’ कार्कीले भन्नुभयाे, ‘अहिले भारतमा यो भेरियन्ट तिब्र रुपमा फैलिरहेको छ, भारतबाट नेपाल भित्रीने नागरिकमा पनि पछिल्लो दिनहरुमा संक्रमण देखिने क्रम बढेको छ ।’ सुदूरपश्चिममा कोरोना संक्रमण नियन्त्रणका लागि हालसम्म खास्सै तयारीको योजना भने नरहेको उहाँले बताउनुभयाे ।

‘अहिले सम्म संक्रमितपनि त्यती धेरै देखिएका छैनन्, उहाँले भन्नुभयाे, ‘भएकाहरुमा पनि गम्भिर स्वास्थ्य समस्या छैन, संक्रमणदर उच्च भएमा त्यसबारेमा केन्द्रले निर्णय गर्ला ।’ कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी निर्णय केन्द्रिय कोभीड नियन्त्रण समितिले गर्ने गरेको उहाँले बताउनुभयाे । 

सुदूरपश्चिममा कारोना रोकथामका लागि भौतिक संरचनाको अभाव नरहेको उहाँले बताउनुभयाे । ‘संरचना हामीसंग प्रयाप्त रहेको छ,’ यदी नयाँ भेरियन्ट तिब्र रुपमा फैलि हालेपनि त्यसलाई रोक्न र व्यवस्थापन गर्न यहाँ कुनै समस्या हुनेछैन ।’

सेति प्रादेशिक अस्पतालका बरिष्ट कन्सल्टेन्ट फिजिसियन डाक्टर शेरबहादुर कमरका अनुसार ओमिक्रोनको नयाँ भेरियन्ट तिब्र रुपमा फैलिने भएपनि स्वास्थ्य जटिता भने कम रहेको बताउनुभयाे । ‘अहिले सम्म भारतमा देखिएको संक्रमणको अवस्था हेर्दा यो भेरियन्ट तिब्र रुपमा फैलने गरेको छ,’ कमरले भन्नुभयाे, ‘तर रोगिको स्वास्थ्य जटिलता भने पहिलाको भन्दा न्यून छ, दिर्घ रोगि र कम्जोर स्वास्थ्य अवस्था भएका व्यक्तिलाई रोग लागे समस्या हुन सक्दछ ।’

अहिले सेति प्रादेशिक अस्पतालमा फाटफुट रुपमा कोरोना संक्रमति आउने गरेका उहाँले बताउनुभयाे । संक्रमण पुष्टि भएका विरामीलाई भर्ना गरेर उपचार गर्नुपर्ने समस्या भने अहिलेसम्म नरहेको उहाँले बताउनुभयाे । ‘पीसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएका विरामीलाई स्वास्थ्य सुझाव दिएर पठाउने गरेका छौं,’ कमरले भन्नुभयाे, ‘अस्पतालमा भर्ना गर्नु पर्ने बिरामी आएका छैनन्, भर्ना गर्नुपरे अस्पतालको कोभीड वार्ड तयारी अवस्थामा छ ।’

त्रिनगर सीमा नाकामा स्थापना गरिएको स्वास्थ्य डेस्कका इन्चार्ज गणेश साउदका अनुसार पछिल्लो समय भारतबाट आउने धेरै मानिसमा कोरोना संक्रामण पुष्टि हुन थालेको छ ।

‘विभिन्न कारणले भारतगएका नेपालीहरु नयाँ बर्ष मनाउन भारतबाट फर्कने क्रम पनि उच्च छ,’ साउँदले भन्नुभयाे, ‘उनिहरुमा संक्रमण पनि तिब्र गतिमा देखिएको छ, यसबारेमा सरकोकारवालाले सोच्नु जरुरी छ ।’ भारतबाट आउने मध्य ५ प्रतिशत नागरिकमा कोरोना संक्रमण देखिने गरेको उनले बताउनुभयाे । 
 

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ४ : ५० बजे