यस्तो छ आजको विनिमय दर

विदेशबाट बाक्सामा फर्किनेहरुकाे बिमा रकम हत्याउने अपराधीक गिराेह प्रहरी फन्दामा

काठमाडाैं । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएपछि आफन्तलेराहत स्वरुप  पाउने बिमा रकम हत्याउन ठूलो गिरोह नै सक्रिय भएकाे देखिएको छ।   प्रहरीले वैदेशिक रोजगार विभागका कर्मचारीसहित सात जनालाई समातेपछि विदेशमा मृत्यु हुनेहरुका घर परिवारलाई समेत ठग्ने गिरोह नेपालमा सकृय रहेको खुलेको हो । 

उनीहरूले विदेशमा  गएर ज्यान गुमाएका वा  स्वदेशमै ज्यान गुमाएका परिवारका सदस्यहरूलाई आफू बिमा कम्पनीको मान्छे रहेको ,आफूहरू पैसा निकाल्न सहयोग गर्ने भन्दै उनीहरूको काम गरिदिने र उनीहरूको बिमा मार्फत कति रकम निकालेको भन्ने पनि नबताएर आफूहरूले पीडितहरूले पाउने रकम लिने गरेका थिए । उनीहरूले पीडितहरूलाई उनीहरूले पाउने रकमको थौरै रकममात्र दिने गरेका  थिए  । 

सरकारी कर्मचारी पशुपति अधिकारीले दिने सूचनाका आधारमा काभ्रेको रोशी गाउँपालिका-१२ का ४१ वर्षीय रामबहादुर तामाङ, सर्लाहीको लालबन्दी नगरपालिका-८ का ३४ वर्षीय विनोद कुमार लामा, सोही ठेगाना भएका ४० वर्षीय डिकबहादुर मल्ल, ३५ वर्षीय रविन भन्ने रविन्द्र मोक्तान लगायतले विदेशमा आफन्त गुमाउनेमाथि नै अपराध गर्दै आइरहेका थिए । 

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले त्यस्ता कार्यमा संलग्न रहेका व्यक्तिहरुको निग्रानी राखी खोजतलास गर्ने क्रममा मिति २०७९ चैत २३ गते दिउँसो जिल्ला काठमाण्डौ गोंगबु स्थितबाट राम बहादुर तामाङ समेत ६ जना व्यक्तिहरुलाई पक्राउ गरिएकाे हाे ।

निजहरूबाट विभिन्न मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्यूदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बीमा कम्पनीको लेटरप्याड लगायतका महत्वपूर्ण अन्य विविध कागजातहरु सहित फेला पारी निजहरुलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँ पठाइएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएकाे छ ।  

उनीहरुले   प्रहरीका अनुसारवैदेशिक रोजगारीको लागि विदेशमा काम गर्दागर्दै विविध कारणले मृत्यू भएका तथा विदामा नेपाल आउँदा मृत्यू भएका नेपालीहरुले बीमा बापत पाउने बीमा रकम मृतकका आफन्तहरुलाई दिलाई दिन्छु भनी बीमा बापत प्राप्त हुने रकमको केही रकम मात्र आफन्तलाई दिई बाँकी रकम लिई ठगी गर्ने गरेका थिए । 

प्रहरीका अनुसार कर्मचारीको सुचनापछि विदेशबाट बक्सामा आउने शवसँगै उनीहरुको परिवारसँग पूरै घुलमिल भएर रकम हत्याउने पृष्ठभूमि तयार पार्ने गरेको थिए । मृतकका परिवारलाई साहनुभूति दिने नाममा उनीहरु गाउँगाउँ पुग्ने  र काजक्रिया सकिएपछि आफन्तले पाउने बिमा वापतको रकम हडप्न सहयोगीका रुपमा देखा पर्दथे । उनीहरुले आवश्यक कागजात बनाउन सघाउनेदेखि वडामा मृत्यु दर्ता, विवाह दर्ता, नाता प्रमाणित लगायतका सबैजसो कागजात तयार पार्न उनीहरु खटिने र त्यसैबाट पीडितलाई विश्वासमा लिने गरेको देखिन्छ। यसरी सबै कागजपत्र तयार भएपछि उनीहरूलाई काठमाडौंमा ल्याएर बिमाको रकम झिक्ने र हडप्ने  गरेकाे प्रहरीले बताएकाे छ।

ती व्यक्तिहरूको समुहले  ८ -१० जनाको बिमाको रकमका लागि भन्दै सिफारिस लिएर आए पछि शंका लाग्दा अनुसन्धान थालिएको हो ।अनुसन्धानबाट उनीहरूले  धनुषाधाम नगरपालिका-९ का एक जान विदेश गएका तर उनी बिरामी भएपछि,नेपाल आएका र नेपालमा आएपछि उनको निधन भएको र उनको निधन भएपछि ती व्यक्तिहरू उनको घरमा गएका र उनकी श्रीमतीलाई इन्स्युरेन्स कम्पनीको कर्मचारी हौ भनेका र आफूहरूले पैसा निकाल्न सहयोग गर्न बताएका थिए । उनीहरूले भने अनुसार आफूहरू पैसा त निकाले तर निकाले पैसामा भने केही पैसा मात्रै उनलाई दिए । उनलाई थाहा थिएन पैसा पाइन्छ भनेर उनले जति पाए त्यति लिइन् । ती व्यक्तिहरूले बिमा मार्फत १३ लाख निकाले तर मृतकको श्रीमतीलाई ५ लाख  मात्रै दिएको अनुसन्धानबाट खुल्न आयो ।

पक्राउ परेका एजेन्ट सर्लाहीका डिकबहादुर मल्ल, रविन भनिने रविन्द्र मोक्तान र प्रकाशबहादुर गोलेको साथबाट गरेर ३५ जना मृतकको विवरण फेला परेको छ । जस मध्ये उनीहरूले धरैको बिमा मार्फतका रकम निकालेको पाइएको छ । उनीहरूले विदेशबाट शव ल्याँउदा विमानस्थमै  मृतकका परिवार भेट्ने गरेको पाइएको छ । 

प्रहरीका अनुसार वैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारीले मृतकको विवरण ठगी गर्ने गिरोहका सदस्यस पुर्‍याउने गरेको पाइएको छ । अपराध अनुसन्धान कार्यालयले शुक्रबार अपराह्न उनलाई बोर्डको कार्यालयबाटै पक्राउ गरेको छ । प्रहरी अनुसन्धानकै क्रममा रुन्द्रमान र विनोदकुमार लामा  पनि पक्राउ परेका थिए । उनीहरूलाई एजेन्टका रुपमा खटाएको  थियो ।  गिरोहका योजनाकार काभ्रेपलाञ्चोकका रामबहादुर तामाङ रहेका प्रहरीले जनाएको छ । 

          

पक्राउ परेका गिराेहका व्यक्तिहरूकाे विवरण  

१. नामः राम बहादुर तामाङ, उमेर : ४१ वर्ष
 ठेगानाः जिल्ला काभ्रेपलाञ्चोक रोशी गा.पा. वडा नं. १२

२. नामः विनोद कुमार लामा
उमेर: ३४ वर्ष,    ठेगानाः जिल्ला सर्लाही लालबन्दी न.पा. वडा नं. ८ ।

३. नामः डिक बहादुर मल्ल, उमेर: ४० वर्ष
ठेगानाः जिल्ला सर्लाही लालबन्दी न.पा. वडा नं. ८

४. नामः रविन भन्ने रविन्द्र मोक्तान          
उमेर: ३५ वर्ष, ठेगानाः जिल्ला सर्लाही लालबन्दी न.पा. वडा नं. ८

५. नामः प्रकाश बहादुर गोले   
उमेर: ३५ वर्ष,  ठेगानाः जिल्ला सर्लाही लालबन्दी न.पा. वडा नं. ८

६. नामः रुद्रमान गोले     
उमेर: ३९ वर्ष,  ठेगानाः जिल्ला सर्लाही हरिवन न.पा. वडा नं. २

 

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  २ : २५ बजे