रुससँग सिमा जोडिएको फिनल्यान्ड औपचारिक रूपमा नेटोमा आबद्ध

काठमाडौँ – फिनल्यान्ड औपचारिक रूपमा उत्तरी एटलान्टिक सन्धी संगठन (नेटो)मा आबद्ध भएको छ। 

सिएनएनका अनुसार, मंगलबार ३१ औं सदस्य राष्ट्रका रूपमा फिनल्यान्ड नेटोमा आबद्ध भएको हो ।

ब्रसेल्सस्थित नेटोको हेडक्वार्टर परिसरमा विशेष समारोह आयोजना गरी नेटोमा आबद्ध देशका झन्डासँगै फिनल्यान्डको झन्डा फहराइएको थियो । 

नेटोमा आबद्ध हुने फिनल्यान्डको निर्णयलाई ऐतिहासिक कदम भनिएको छ । 

फिनल्यान्ड रुससँग सिमाना जोडिएको देश हो। गतवर्ष रुसले युक्रेनमाथि आक्रमण गरेपछि फिनल्यान्डले नेटोमा आबद्ध हुन निवेदन दिएको थियो।

त्यसको एक वर्षपछि फिनल्यान्ड नेटोको सदस्य राष्ट्र बनेको हो। अब फिनल्यान्डमाथि कुनै देशले आक्रमण गरे नेटोका बाँकी ३० देशले फिनल्यान्डलाई सघाउनेछ। 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन र  नेटोका महासचिव जेन्स स्टोलटेनवर्गले फिनल्यान्डका विदेशमन्त्री पेक्का हाविस्तोलाई बधाई दिँदै अब फिनल्यान्ड थप शक्तिशाली भएको बताए। 

फिनल्यान्ड नेटोमा आबद्ध भएपछि रुस सतर्क बनेको छ।  ‘रुससँग सिमाना जोडिएको फिनीस भूमिमा नेटोले सेना र उपकरण तैनाथ गरे भने हामी पश्चिमी र उत्तरपश्चिममा हाम्रो सैन्य क्षमतालाई सुदृढ गर्नेछौं,’ रूसका सहायक विदेशमन्त्री अलेक्जेन्डर ग्रुस्काेले रुसी समाचार एजेन्सी रिया नोवोस्तीलाई भनेका छन् ।-एजेन्सी 

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  १२ : ५९ बजे