पुस १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेको थियो । तर, अहिले सम्म पनि सरकार निर्माणको काम टुङ्गिएको छैन । अर्थात् सरकारले पूर्णता पाउन सकेको छैन । एकपछि अर्को सहयात्री रोज्दै प्रधानमन्त्री दाहाल हिँडेका कारण सरकार विस्तारको कार्य लम्बिएको हो । सरकार निर्माण गरेर जनतालाई डेलिभरी दिनेमा भन्दा पनि दाहालले आफ्नो सङ्कीर्ण स्वार्थलाई महत्त्व दिएका कारण सय दिन भन्दा बढी समय बित्दा पनि सरकार ले पूर्णता पाउन नसकेको हो । देश र जनतालाई केही दिनेमा भन्दा पनि उनले आफ्नो सम्पूर्ण ध्यान आफ्नो पद टिकाउनेमा मात्रै सोच्दै आएका कारण उनको नेतृत्वको यो सरकार गतिहीन अवस्थाबाट गुज्रिन बाध्य भएको हो । र,दाहालको अकर्मण्यताको फल देश र जनताले भोग्न बाध्य भएका हुन ।
जनताको गाह्रो र कष्टमा आफूलाई सजिलो देख्ने दाहाल प्रवृत्तिकै कारण देश अस्थिर राजनीतिकको अन्त्यहीन बाटोमा रुमलिन पुगेको हो । दाहालको अराजनीतिक दाउपेचका कारण नै मुलुकको राजनीति प्रति नै आम मानिसमा निराशा छाउन थालेको हो । यसबीच बागमतीमा धेरै पानी बगिसक्यो, तर अहिलेसम्म देशले पूर्ण सरकार पाउन समेत सकेको छैन । सरकार गठन भएको सय दिन बितिसक्यो, अहिले पनि दाहाल सरकार निर्माणकै कसरतमा रमाइरहेका छन् । र,अझै कहिले सम्म सरकारले पूर्ण आकार लिने हो,त्यो अरूलाई त के स्वयं दाहाललाई समेत थाह छैन । आमनिर्वाचन देखि अहिलेसम्म देश गतिहीन अवस्थाबाट गुज्रिरहेको छ । यो सरकारले जनतालाई सम्बोधन हुने भन्न लायक केही काम गर्न सकिराखेको छैन ।
देशको आर्थिक अवस्था झन्पछि झन् धराशायी हुँदै गएको छ । जनता मंहगी र व्यवसायीहरू बैकको चर्को व्याजले निसासिइरहेका छन् । युवाहरू दिनहुँ लर्को लागेर यो देशमा केही हुँदैन भन्दै झोला बोकेर एयरपोटतिर बाटो तताइरहेका छन् । आम देशका युवाहरू माझ देशको राजनीतिले बढाएको निराशा झन् पछि झन् डरलाग्दो बन्दै जान थालेको छ ।देशमा किसानहरू उत्पादनको बजार र मल नपाएर खेती किसानी गर्ने जाँगर मारेर बसिरहेका छन् । न्यून आयका जनता मिटर ब्याज र लघुवित्तको पासोमा परिरहेका छन् । तर,देश हाँक्ने जिम्मा पाएको सरकार जनताका यी सबै समस्याबाट बेखबर छ ।र, महिनौँ महिनादेखि देखि सरकार निर्माण गर्ने एकोहोरो धुनमा मात्रै मस्त छ ।
त्यसो त दाहालले तेस्रो पटक प्रधानमन्त्री हुँदा आफूले देशको लागि केही गर्ने बताएका थिए । उनी तेस्रो पटक प्रधानमन्त्री पनि भए । तर, उनीबाट देश हित र जनताका लागि केही होला भन्ने यसबीच आस नै मरिसकेको छ । जब उनले विना कुनै राजनीतिक कारण एमालेसँगको समीकरण तोडे र देशलाई अस्थिरतातिर मोडे त्यसबाट नै उनीबाट आस मरेको हो । देशलाई जानी –जानी जो व्यक्तिले अस्थिरतातर्फ लैजान्छ, त्यस्तो व्यक्तिबाट मुलुकले के आस गर्न सक्छ ? देशमा अस्थिरता होइन, स्थिरताको आवश्यकता थियो । अस्थिरतामा होइन, कुनै पनि मुलुकको प्रगति, उन्नति स्थिरतामा मात्रै सम्भव छ भन्ने कुरा दाहाललाई थाह नभएको भने होइन । तैपनि, उनले किन देशलाई अस्थिरतातर्फ लैजाने बाटो रोजे ? दुई महिना पनि नबित्दै अर्को समीकरण बनाउने तल्लो तहको अराजनीतिक खेल दाहालले किन खेले जसले देशको राजनीतिलाई नै विकृत पारिदिएको छ ।
उनको क्रियाकलापले देशको राजनीति प्रति आम मानिसको आकर्षण नै घटाई दिएछ । जसलाई जतिखेर पनि आफ्नो स्वार्थका लागि धोका दिने खेल नै राजनीति हो भन्ने एक प्रकारले भन्ने हो भने उनले भाष्य नै निर्माण गरिदिएका छन् । एउटासँग मिलेर निर्वाचनमा जाने अर्कोसँग मिलेर सरकार बनाउने । फेरी त्यही सरकारमा रहेर सत्ता पार्टनरलाई विना राजनीतिक कारण घात गर्दै अर्केसँग लागेर समीकरण बनाउने । र, देशलाई अन्त्यहीन अस्थिरताको चक्रमा घुमाई रहने दाहालको जुन नीति छ,त्यसले आज सिङ्गो देशलाई नै अधोगतितर्फ धकेलिरहेको छ । देशमा राजनीतिक दलको काम भनेको नै सरकार बनाउने , विश्वासको मत लिने । प्रदेशैपिच्छे मुख्यमन्त्रीहरू दुई–दुई महिनामा फेरी रहने मात्रै काम भएको छ । दाहालले चालेका राजनीतिक कदमकै कारण आज देशमा सरकार बनाउने, गिराउने र फेरी अर्को निर्माण गर्ने बाहेक अर्को केही हुन सकेको छैन । के जनताले राजनीतिक दलहरूलाई सरकार बनाउने र विश्वासको मत लिने खेलमा रमाउनका लागि मात्रै निर्वाचित गरेर पठाएका हुन ? के प्रधानमन्त्री दाहालले यसको जवाफ दिनु पर्दैन ? जनताले अमुक राजनीतिक दलका अमुक व्यक्तिहरूलाई प्रधानमन्त्री, मन्त्री, सभामुख, राष्ट्रपति ,उपराष्ट्रपति बनाउनकै लागि मात्रै पठाएका हुन ? के जनताको मतको अभीष्ट उनीहरूलाई संवैधानिक पदमा देख्नकै लागि मात्रै हो ?
प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार १ : १५ बजे
प्रतिक्रिया