लुम्बिनी प्रदेशसभा बैठक बस्दै 

बुटवल । सरकार परिवर्तनको रस्साकस्सी चलिरहेको बेला लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ ।

प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो १ः०० बजेका लागि बैठक आह्वान गरिएको छ । 

प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशनमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ नियम १२ को उपनियम (३) बमोजिम अनुरूप आजको बैठक आह्वान गरिएको हो । सो बैठकमा मुख्यमन्त्री लिला गिरीले ‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठान’ सम्बन्धी विधेयक पेस गर्ने कार्य तालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

माओवादी लगायतको समर्थनमा मुख्यमन्त्री बन्नुभएका एमालेका गिरीलाई केन्द्रीय राजनीति परिवर्तन भए लगत्तै माओवादी लगायतले समर्थन फिर्ता लिएपछि राजीनामा दिनुपर्ने विषय उठाइँदै आए पनि गिरीले भने संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिन खोजिरहनुभएको छ । 

प्रतिपक्ष दलहरूले भने गिरीको राजीनामा पछि काँग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै यसअघि नै प्रदेश प्रमुख समक्ष दाबी पेस गरेअनुसार तत्काल नियुक्ति खोजिरहेका छन् । 

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ९ : २५ बजे