अमेरिकामा शक्तिशाली आँधीबाट कम्तीमा २५ जनाको मृत्यु

न्युर्योक । मिसिसिपीमा आएको आँधीले तहसनहस गरेको महिना दिन नबित्दै दक्षिण तथा मध्यपश्चिमी अमेरिकामा पुनः आएको शक्तिशाली आँधीबाट कम्तीमा २५ जनाको मृत्यु भएको छ। 

अमेरिकाको कयौँ राज्यलाई असर पुग्ने गरी आएको आँधीबाट बिद्युत् अवरुद्ध भएको, घरहरू भत्किएको, सवारी साधानहरु पल्टिदा करोडौँ रुपैयाँको क्षति हुन पुगेको अमेरिकन सुरक्षा अधिकारीहरूले जनाएका छन्  ।

अर्कान्सस राज्यमा तीव्र रूपमा चलेको हावाहुरीका कारण कार पल्टिँदा सो कारमा सवार रहेका ५ जनाको मृत्यु भएको छ भने तीव्र हावाहुरीका कारण टेनेसीमा ७, इलिनोइसमा ४ तथा इन्डियानामा ३ जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरूले जनाएका छन् । 

यस्तै, अलबामा र मिसिसिपीमा पनि मानवीय हताहति भएको खबर आए पनि त्यसको औपचारिक जानकारी भने अझै पाउन सकिएको छैन । ओहियो र पेन्सिलभेनिया राज्यसहित कयौँ राज्यमा झन्डै ६ लाख मानिस विद्युत् विहीन भएका छन्। रुखहरू ढल्दा सडकसमेत अवरुद्ध भएका छन्।

अर्कान्ससमा गभर्नर सारा हुकाबी स्यान्डर्सले प्रभावित क्षेत्रमा आपत्कालको घोषणा गरेका छन्। उनीहरूले घरबाहिर ननिस्कन तथा विद्युतीय सामाग्री चलाउँदा जोगिनका लागि आग्रहसमेत गरेका छन् । 

अमेरिकाको राष्ट्रिय मौसम सेवाले अझै तीव्र गतिमा हावा चल्ने र खराब मौसमले थप प्रभाव पार्ने सम्भावना रहेको चेतावनी दिएको छ। 

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  १० : ०२ बजे