बजेट अभावमा विद्यालय भवन अलपत्र

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यबिन्दु–३ मा बजेट अभावले विद्यालय भवन अलपत्र बनेको छ । बह्म प्राथमिक विद्यालयको निर्माणाधीन दुई कोठे पक्की भवन बजेट अभावले अलपत्र बनेको हो । 

विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर केसीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट बजेट परेर सुरु गरिएको भवन निर्माण बजेट निकासा हुन नसकेपछि निर्माण अधुरो बनेको बताउनुभयो । “यस आर्थिक वर्षमा भवन निर्माण सम्पन्न गर्ने गरी हामीले काम गरेका थियौँ”, उहाँले भन्नुभयो, “थप बजेट निकासा नभएपछि भवन निर्माण पूरा गर्न सकिएन ।” जम्मा रु १८ लाखको योजनामा निर्माणाधीन भवनलाई पूर्णता दिन अझ रु आठ लाख आवश्यक परेको केसीले बताउनुभयो । 

भवनको डिपिसी ढलान तथा तला ढलान गर्दा रु १० लाख बजेट लागेको उहाँले बताउनुभयो । “अब भवनको पर्खाल उठाउन, भुई र भित्तामा प्लास्टर गर्ने काम बाँकी छ”, उहाँले भन्नुभयो । बजेटका लागि वडाध्यक्ष, नगरपालिकाको शिक्षा शाखा तथा नगरप्रमुखसँग आग्रह गर्दासमेत कुनै सहयोग नभएको उहाँले बताउनुभयो । 

कक्षा ५ सम्म अध्ययन हुने यस विद्यालयमा पर्खालपनि अपुरो रहेको छ । विद्यालयको पर्खाल निर्माणका लागि विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गरिदिएमा विद्यार्थी सुरक्षित तवरले अध्ययन गर्न पाउने उहाँको भनाइ छ । विद्यालयमा पर्खाल नहुँदा विद्यालयमा पढाइ भइरहेको बेलामा जङ्गली जनावर तथा पशु चौपाया विद्यालयभित्र पस्ने गरेका प्रधानाध्यापक केसीले बताउनुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडासदस्य राजु अर्यालले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यस वडामा दिउँसै गैँडालगायतका जङ्गली जनावरको त्रास रहेको बताउनुभयो । “दुई वर्षअघि दिउँसै विद्यालय नजिक गैँडाको आक्रमणबाट एकजना वृद्धा घाइते हुनुभएको थियो”, उहाँले भन्नुभयो, “विद्यालयमा पर्खाल नहुँदा अभिभावक आफ्ना बालबालिकालाई विद्यालय पठाउनसमेत डराउने गर्नुभएको छ ।” यस विद्यालयमा बोटे, थारु, दलितलगायत पिछडिएका समुदायका बालबालिकाको बाहुल्यता रहेको अर्यालले बताउनुभयो । विद्यालयमा विभिन्न सङ्घसंस्थाले सहयोगले गरेर कम्प्युटर, प्रिन्टरलगायतका सामग्री प्राप्त भएकोमा अहिले ती विद्युतीय उपकरणसमेत बिग्रिएका छन् । विद्यालयकी शिक्षिका तारा रानाभाटले भन्नुभयो, “विद्यार्थीलाई पढाउँदा बुझाउन भए पनि बिग्रिएका कम्प्युटर तथा प्रिन्टर देखाउने गरेका छौँ ।”

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  १२ : ०६ बजे