सडक यातायात क्रमशः सहजतातर्फ

सुर्खेत र गोरखामा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु

काठमाडौँ ।  सुर्खेत र गोरखामा भएका दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु भएको छ । 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ शिवालय चोकमा गए राती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना घाइते भएका छन् ।

सुर्खेतकै वीरेन्द्रनगर नगरपालिका २ कोलडाँडाका २४ वर्षीय सुदिप चौधरीको मृत्यु भएको हो । घाइते भएका उनलाई उपचारको लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेको थियो ।

घाइते भएका पछाडि सवार बाँकेको बैजनाथ गाउँपालिका-३ का  २२ वर्षीय सुशील चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।  

प्रदेश ०२-००१ प ४९८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो । मृतक र घाइते दुवै जना नेपाल आर्मीका सैनिक जवान रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

त्यस्तै, गोरखाको भिमसेनथापा गाउँपालिका-१ निवेलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा सप्तरीको कृष्णसरवण गाउँपालिका-२ का २३ वर्षीय लक्ष्मी कान्त चौधरी रहेका छन् ।  

घ्याम्पेसालबाट निवेल तर्फ जाँदै गरेको भे ६ प ७४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको प्रहरी चौकी घ्याम्पेसालले जनाएको छ । 

 

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  १० : ५४ बजे