आजदेखि एसइई परीक्षा सुरु, सबैभन्दा बढी विद्यार्थी बागमती प्रदेशबाट सहभागी हुँदै

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा आजदेखि सुरु हुँदै छ । 

यस वर्ष नियमित र ग्रेड वृद्धि गरी एसइई परीक्षाका लागि २ हजार ३७ परीक्षा केन्द्र तोकिएको छ भने चार लाख ८५ हजार ३९६ जना विद्यार्थी परीक्षामा सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डको कार्यालयले जनाएको छ ।

एसइई परीक्षा बिहान ८ः०० बजेदेखि सुरु भई ११ः०० बजे सकिनेछ  । पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षाहुँदै छ ।  आजै वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्यको परीक्षा हुँदै छ ।  ।

परीक्षामा सबैभन्दा बढी १ लाख ६ हजार विद्यार्थी बागमती प्रदेशबाट सहभागी हुँदै छन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट जम्मा ४१ हजार विद्यार्थी सहभागी हुँदै छन् । 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार २०७९ मा एकै वर्ष दुई वटा एसइई हुने भएको छ । यसअघि, वर्ष २०७८ का लागि २०७९ वैशाख ९ देखि २० गतेसम्म एसइई सञ्चालन भएको थियो ।

त्यसअघिका दुई वर्ष कोरोना महामारीका कारण आन्तरिक मूल्याङ्कन विधिबाट परीक्षा सञ्चालन गरिएको थियो । यो वर्ष विद्यार्थीको भौतिक उपस्थितिमा दुई हजार ३७ केन्द्रबाट परीक्षा लिइने बोर्डले जनाएको छ ।

यस वर्षको एसइईमा सहभागी हुने छात्र छात्राको सङ्ख्यामा थोरै मात्रै फरक छ। दुई लाख ४२ हजार ६७४ छात्र र दुई लाख ४२ हजार ७१२ छात्राले परीक्षा दिँदै छन् । 

यीमध्ये नेपाली विद्यार्थी अध्ययनरत एभरेस्ट इन्टरनेसनल स्कुल जापानबाट पनि १४ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका छन् ।

 

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ६ : ५४ बजे