कुनै पनि व्यक्ति वा संस्थाको जीवनमा समस्या देखिनु कुनै अनौठो र कहिल्यै कसैलाई नभएको कुरा होइन । सामान्यतया प्रगति गर्दै अगाडि बढिरहेका व्यक्ति, परिवार वा सङ्घसंस्थामा समस्या आइरहन्छन् । साधारण भाषामा भन्दा यस्ता समस्याहरूको कुशलता पूर्वक समाधान गर्दै जाँदा नै विकास हुन्छ । अहिले सहकारीका मूलतः संस्थाहरूमा देखिएको समस्या पहिला पनि थियो र पछि पनि यस्ता समस्या आउने छन् । यस्ता समस्याहरूलाई घटाउँदै शून्य बनाउने लक्ष हुनुपर्छ । हाललाई समस्याको आकार सानो बनाउने प्रयास सबै पक्षबाट हुनु पर्छ । यसलाई धेरै अचम्म नमान्दा हुन्छ । यति हो समस्या धेरैमा देखियो भने चिरफार राम्रै गर्नुपर्छ । समाधानका उपायहरूमा आन्तरिकभन्दा बाह्य कारण धेरै हुन सक्छन् । केहीमा मात्रै देखियो भने यसमा आन्तरिक कारण प्रमुख हुन सक्छन् ।
अहिले विभिन्न सहकारीमा देखिएको समस्याको आकार समग्रमा कत्रो हो, कुन आकारको हो ? अर्थात् कति धेरै सहकारीमा यो समस्या छ ? पहिला यसबारेमा बिचार गरौँ । देशमा भएका करिब ३० हजार सहकारी मध्ये करिव २०।२२ हजार जति सहकारी नियमित सञ्चालनमा भएको अनुमान गर्न सकिन्छ । यसमध्ये कति सहकारीमा समस्या आएको होला ? यो पनि अनुमान नै हो । करिब एक हजार सहकारीमा समस्या आएको हुनसक्छ । यी मध्ये कतिपयको अवस्था सार्वजनिक भयो र कतिको हुनै बाँकी छ । विशेष गरी ठुलो आकारको निक्षेप सङ्कलन गर्ने, ठुलो आकारमा कर्जा लगानी गर्ने, सदस्यको चासो कम भएका, सीमित सञ्चालक र सीमित कर्मचारीले खुसी खुसी गरेका र सहकारीले आफूलाई बैंकभन्दा हामी के कम छौँ भन्ने मनोविज्ञानमा सञ्चालित सहकारीमा धेरै समस्या भएको पाइन्छ ।
अहिले जुन जुन सहकारीमा समस्या देखिँदै गएको छ ती ती सहकारीले आर्थिक मन्दी, तरलताको अभाव, एकै पटक धेरै मानिस फिर्ता लिन आएकाले समस्या भएको हो भन्ने गर्छन् । आवरणमा देखिने कुरा यिनै हुन् । आर्थिक मन्दीको असर सबै सहकारीमा परेको छ । तरलताको अभाव धेरथोर सबैलाई छ । सहकारी संस्थामा सदस्यले नै बचत गर्ने हुन् तर किन सबै सहकारीमा सदस्यहरू एकै पटक पैसा फिर्ता लिन गएनन् ? यी र यस्ता केही प्रश्नको उत्तर खोज्नु पर्ने हुन्छ ।
भूकम्प आउँदा सबै घर ढल्दैनन् जुन घर कमजोर छन् ती ढल्छन् । त्यसैले भूकम्पले धेरै क्षति गर्न नसकोस् भनेर भवन निर्माणमा मापदण्ड बनाइन्छ र यस्तो मापदण्ड पुरा गरेका घर, भवनहरू हत्तपत्त ढल्दैनन् । हावाहुरीले सबै रुख ढाल्दैन र ढल्दैनन् जुन कमजोर छन् ती ढल्छन् वा टुट्छन् । सहकारीमा पनि यो नियम लागु हुन्छ ।
सहकारीमा देखिने समस्याका बारेमा : पहिला समस्या के हो त्यसको पहिचान गर्नु प¥यो । दोस्रोमा समस्या आउनुको कारण पत्ता लाउनु प¥यो र तेस्रोमा समाधानका लागि एक्सन सुरु गर्नु प¥यो । अहिले वित्तीय सङ्कटमा परेका कतिपय सहकारीका बारेमा चर्चा र छलफल हुने गरेको छ । समाधानका लागि कसैबाट तत्काल ऋण तथा सापटीको खोजी हुने गरेको छ । केही मानिसहरू आर्थिक मन्दीको कारणले सहकारीलाई अप्ठ्यारो प¥यो । सहकारी डुब्दा सबैतिर त्यसको नकारात्मक असर पर्छ, सहकारी क्षेत्र नै धराशायी बन्छ । त्यसैले सबै सहकारी मिलेर सङ्कटमा परेको सहकारीलाई बचाउनु पर्छ भन्ने गरिन्छ । समस्यामा परेकालाई सहयोग गर्नु, समाधान खोज्नु एकदमै राम्रो कुरा हो । यसमा असहमत हुनुपर्ने छैन ।
सहकारीलाई सहयोग गर्ने सहकारीले नै हो । समस्या भएको बेलामा सहकारीलाई सहयोग गर्ने भनेको कि सदस्यले हो कि सहकारीले नै हो । नेपालमा सहकारीका जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म सहकारीका सञ्जाल छन् । तिनले आवश्यक पर्दा सहयोग गर्न सक्दैनन् भने तिनको खासै अर्थ रहँदैन । प्रारम्भिक सहकारीले कारोबार गर्ने गरेका राष्ट्रिय सहकारी बैङ्क, नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी सङ्घ (नेप्सकुन)ले वित्तीय सेवा उपलब्ध गराउन सक्छन् । अरू सहकारीहरूले पनि अल्पकालीन रूपमा यस्ता संस्थालाई अप्रत्यक्ष सहयोग गर्न सक्छन् । जस्तै विगतमा झापाको एउटा सहकारीलाई समस्या पर्दा अरू कतिपय सहकारीले जिल्ला सङ्घको खातामा पैसा राखिदिने र जिल्ला सङ्घले त्यस्तो सहकारीलाई छोटो अवधिको कर्जा सापटी दिएर सहयोग गरेको उदाहरण छ । धेरै सहकारीलाई राष्ट्रिय सहकारी बैक र नेप्सकुनले पनि कर्जा दिएर सहयोग गरेको पाइन्छ । यस्तो सहयोगका लागि मात्रै समस्यामा परेका सहकारीको ध्यान गएको देखेको र सुनेको छु । यो अल्पकालीन र टालटुले समाधान मात्रै हो । जस्तै हत्केलामा घाउ छ भने पन्जा लगाएर छोप्न सकिएला, शरीरमा घाउ भए लुगा लगाएर ढाक्न सकिएला तर घाउ निको पार्ने उपचार यो होइन । यो तत्कालको रोकथाम मात्रै हो ।
मेरो बिचारमा समस्या देखिए पछि पहिला समस्याको कारणमा पुग्न जरुरी छ । कारण थाहा पाउनु पर्छ । कारण तिर ध्यान नदिई समस्याको समाधान खोज्दा एक पटकलाई वा केही समयका लागि त समस्या थामथुम पारिएला तर प्रवृत्तिमा अर्थात् कारणमा सुधार भएन भने यस्तो उपायले दिगो समाधान दिन सक्दैन र समस्या बारम्बार दोहोरिन्छ ।
सहकारीमा देखिएको अहिलेको समस्या भनेको पहिलो, सहकारीमा भएको सम्पतिको व्यवस्थापनमा सन्तुलन नमिलेर भएको हो । दोस्रोमा सहकारीमा कारोबार गर्ने सदस्यले संस्थाको वास्तविक अवस्थाको बारेमा जानकारी नपाएका कारण आत्तिएर पैसा लिन सहकारीमा पुगेकाले समस्या आएको हो । सहकारीको सम्पत्तिको सन्तुलन नमिल्नु र सदस्यहरू आत्तिएर संस्थामा पैसा लिन लाइन लाग्नु भनेको बाह्य कारणभन्दा पनि आन्तरिक कारण हो । अहिलेको अवस्थामा सहकारीले निक्षेपको पैसा फिर्ता गर्न नसकेर देखिएको समस्या भनेको बाह्य कारणभन्दा पनि आन्तरिक कारण बढी जिम्मेवार छ । यदि बाह्य कारण पहिलो र महत्त्वपूर्ण भएको भए भएका सबै सहकारीमा यो समस्या देखिनु पर्ने थियो । तर भएका सबै सहकारीमा यो खालको समस्या भएको छैन ।
बाह्य कारणले गर्दा सहकारीहरूमा दबाब परेको छ । लगानीमा भएको पैसा उठ्न समय लाग्छ । चाहियो भन्दैमा कर्जामा लगानी भएको पैसा एकै पटक उठाउन सकिँदैन । बजारमा आर्थिक चहलपहल कमजोर भएका कारण निक्षेप विगतमा जस्तो सहज नभएको वा निक्षेपमा कमी आएको हुन सक्छ । मानिसको आर्थिक अवस्था कमजोर भएपछि बचतमा राखेको पैसा वा निक्षेप झिकेर काम चलाउनु पर्ने अवस्था भएकाले निक्षेप घटेर दबाब परेको हुन सक्छ । यो खालको दबाब र समस्या भने सबै सहकारी र बैङ्कहरूमा देखिएको छ । यो दबाब जसले झेल्न असमर्थ भए उनीहरूमा एकपछि अर्कोमा गर्दै समस्याहरू बाहिर आइरहेका छन् ।
सहकारीले निश्चित तहसम्मको दबाब झेल्न सक्ने क्षमताको विकास गर्न जरुरी छ । यसका लागि आउन सक्ने जोखिमको आङ्कलन गरेर जोखिम व्यवस्थापनमा काम गर्न जरुरी छ । जस्तै, खोलामा पुल सामान्य अवस्थाका लागि होइन आउन सक्ने बाडीको आकलन गरेर पुल निर्माण गरिन्छ । घर निर्माण गर्दा भूकम्प, हावाहुरीको सम्भावित जोखिमको आङ्कलन गरेर आवश्यक पर्ने तयारी गरिन्छ । अकल्पनीय विपत्ति र क्षमताले धान्नै नसक्ने जोखिम आउँदा कसैको केही नलाग्न सक्छ । तर सामान्य अवस्थामा नै जोखिम थेग्न नसकेर समस्या आउनु र ढल्नु भनेको संस्था भित्रको कमजोरी नै प्रमुख कारण हो । यो अवस्था आउनुमा पहिलो दोषी संस्था सञ्चालकहरू नै हुन् ।
गल्ती जहाँबाट शुरु भएर समस्या देखियो सच्याउन त्यहीँबाट सुरु गर्नु पर्छ । घाउ जहाँ छ दवाई त्यही लगाउनु पर्छ, रोग जसलाई लागेको हो उपचार उसैको गर्नुपर्छ । गल्ती जसले गरेको हो सच्चिनु उसैले पर्छ । नजानेर गल्ती गरेको भए सिकाउन र सिक्न आवश्यक छ । जानीजानी स्वार्थवश गल्ती गरेको रहेछ भने ती सजायका भागिदार बन्नु पर्छ ।
सहकारीका वास्तविक मालिक भनेको यसका सदस्य हुन् । मालिक भएको र हुनुको अनुभूति पटक पटक गराई रहनु पर्छ । सहकारीको सेवा सुविधा र कारोबार सदस्य केन्द्रित हुनुपर्छ । सहकारी सदस्य नियन्त्रित हुनुपर्छ । बाह्य वा आन्तरिक कारणले सहकारीमा समस्या आउँदा, जोखिम महसुस हुँदा सदस्यले सामान्य अवस्थामा भन्दा बढता योगदान गरेर आफ्नो संस्थालाई जोखिमबाट बचाउनु पर्छ ।
अहिले समस्या देखिएका र जोखिममा परेका अधिकांश सहकारीको सूक्ष्म अध्ययन गर्दा त्यहाँ सीमित सञ्चालक र कर्मचारीको स्वार्थवश गरिने अपारदर्शी क्रियाकलाप नै मुख्य समस्या हो । सदस्यले सहकारीलाई मेरो संस्था भन्ने अनुभूति नै गर्न पाएनन्, गरेनन् वा गराइएन । सुविधा उपभोगको लागि (निक्षेपमा बढी व्याज, सजिलो कर्जा आदि)मात्रै नाम मात्रको सदस्य बनेर कारोबार गरे । यस्ता सदस्यले सहकारीमा भएका गतिविधिको बारेमा जानकारी राखेनन् वा कुनै जानकारी दिन आवस्यक नै ठानिएन । त्यसैले यस्ता नाम मात्रका सदस्यले संस्था मेरो भन्ने अनुभूति गरेनन्, गराइएन वा गर्न पाएनन् ।
यस्ता सदस्यबाट सहकारीमा समस्या आउँदा सहकारीलाई सामान्य अवस्थामा भन्दा बढता योगदान गरेर संस्थाको जोखिम कम गर्ने वा सहकारीलाई सहयोग गर्ने नभई संस्थामा राखेको पैसा निकाल्न लाइन लागेर पुग्ने गर्छन् । यस्ता सदस्यले कर्जा लिएको अवस्थामा सहकारी डुब्यो वा बन्द भयो भने कर्जा तिर्न पर्दैन भनेर पर्खने गरेको पनि पाएको छु । अझ विना धितोमा कर्जा लिएका ऋणीहरूमा यो भावना झन् धेरै पाएको छु । तर सहकारी मेरो पनि हो, यो सहकारी जसरी पनि बचाउनु पर्छ भन्ने भावनाका सदस्य भएको संस्थामा पहिला त समस्या नै आएको छैन र आए पनि सबै मिलेर सङ्कट समाधान गर्न लागेको देखेको छु ।
कार्य अनुभवका आधारमा यति भन्न सकिन्छ कि यदि सहकारीको कारोबार, सेवा सुविधा, सञ्चालन आदिमा सदस्य केन्द्रित सहकारी बनाउन सकियो भने जस्तो सुकै जोखिम पनि सजिलै धान्न सकिन्छ । अन्यथा अहिलेको सङ्कट बारम्बार आइरहने छ । त्यसैले कस्तो सहकारी बनाउने र कस्तो सहकारीको सदस्य बन्ने भन्ने बारेमा सबैले चिन्तन गर्न आवश्यक ठान्दछु ।
प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार ८ : ४० बजे
प्रतिक्रिया