मलाई जेल हालेर तर्साउन सक्दैनन् : राहुल गान्धी

काठमाडाैं । भारतको कंग्रेस आईका नेता राहुल गान्धीले आफूलाई सांसद बन्नबाट अयोग्य बनाएर वा जेल हालेर तर्साउन नसक्ने बताएका छन् ।

लोकसभाबाट सांसद पद खारेज भएपछि शनिबार पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई कसैले पनि तर्साउन नसक्ने बताएका हुन् ।

‘उनीहरूले मलाई अयोग्य बनाएर वा जेल हालेर तर्साउन सक्दैनन्,’ उनले भने ।

अयोग्य बनाइए पनि आफूलाई त्यसको मतलब नभएको र आफ्नो तपस्या जनताको लोकतान्त्रिक अधिकारको रक्षा गर्नु भएको बताए ।

‘म यहाँ जनताको लोकतान्त्रिक अधिकारको रक्षा गर्न आएको हुँ। मलाई उनीहरूको डर छैन,’ उनले भने, ‘म प्रधानमन्त्री मोदी र गौतम अदानीबीचको सम्बन्धबारे प्रश्न गरिरहनेछु ।’

यस्तै, आफूले अदानीविरूद्ध अर्को भाषण गर्न लागेको हुँदा प्रधानमन्त्री मोदी डराएकाले आफ्नो सांसद पद खारेज गरेको पनि उनले बताए ।

संसारकै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा प्रतिपक्षीहरूको आवाज चर्को रूपमा उठाउँदै आएका गान्धीलाई बिहीबार मानहानी मुद्दामा २ वर्ष जेल सजाय सुनाइएको थियो ।

सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो । ती दफामा अपराधिक मानहानीमा अधिकतम् २ वर्ष कैद सजाय हुन सक्ने व्यवस्था छ ।

चार वर्षअघि लोकसभा चुनावका क्रम कर्नाटकाको कोलारमा भाषण गर्दै गान्धीले ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो ?’ भन्ने अभिव्यक्ति दिएका थिए ।

गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा हालेका थिए । उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा हालेका थिए ।

भाजपाको गढ र मोदीको गृहराज्य गुजरातमा रहेको उक्त अदालतमा बयान दिने क्रममा गान्धीले आफ्नो आशय कुनै जाति र समुदायलाई चोट पुर्‍याउने नभएको बताएका थिए ।

चुनावी भाषणका क्रममा दिएको अभिव्यक्तिलाई आधार मानेर अदालतले उनलाई अधिकतम् सजाय सुनाएको हो ।

दुई वर्षको सजाय सुनाए पनि सुरत जिल्ला अदालतले गान्धीलाई आफ्नो फैसलाविरूद्ध पुनरावेदन गर्ने भए ३० दिनको समय दिएको छ भने तत्कालका लागि १० हजार भारू धरौटीमा छोडेको छ ।

अदालतको आदेश कार्यान्वयन नै नभएको अवस्थामा त्यही कुरालाई आधार मानेर लोकसभाले शुक्रबार उनको सांसद पद खारेज गरिदिएको हो ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ५ : १८ बजे