एमालेको सचिवालय बैठक सुरु

अनलाइन सञ्चारमाध्यमको विश्वसनीयता घट्दै गयो : अध्यक्ष बस्नेत

काठमाडौँ – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन सञ्चारमाध्यमको सङ्ख्या मात्र बढेको तर विश्वसनीयता घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ।

उहाँले पत्रकारिता बाहेकका पृष्ठभूमि र अध्ययनबाट अनलाइन दर्ताको बाढी देखिएकाले गुणस्तरीयता र विश्वसनीयतामा सबैको ध्यान पुग्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रेस काउन्सिलबाट एक वर्षदेखि विभिन्न पृष्ठभूमिबाट आएका अनलाइन सञ्चालक र सम्पादकलाई नियमित अभिमुखीकरण कक्षा हुँदै आएको र यसलाई निरन्तरता दिने जानकारी दिनुभयो ।

शुक्रवारको अभिमुखीकरण कार्यक्रममा बोल्दै बस्नेतले मिडिया जगतका अहिलेका समस्या समाधान गरेर पत्रकारिता क्षेत्रलाई मर्यादित र विश्वसनीय बनाउन सम्बद्ध सबै निकायको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो ।

अभिमुखीकरणमा विज्ञका रुपमा सहभागी वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष डा। सुरेश आचार्यले पत्रकारितामा विश्वसनीयता जोगाउनु अहिलेको चुनौती रहेको उल्लेख गर्नुभयो । उहाँले पत्रकार आचारसंहिताको पूर्णतः पालनाबाट मात्रै विश्वसनीयता कायम राखिराख्न सकिने बताउनुभयो ।

अनलाइनका अहिलेका प्रस्तुति हेर्दा पत्रकारितामा किन लाइसेन्सको व्यवस्था हुनु जरुरी छ भन्ने देखाएको छु, आचार्यले भन्नुभयोु काउन्सिलले कम्तीमा यस्ता अभिमुखीकरण कक्षा सुरु गरेर स्वागयोग्य काम गरेको छु ।

शुक्रवारको कक्षामा ३४ नयाँ अनलाइनका सञ्चालक र सम्पादक सहभागी थिए । काउन्सिलले एक वर्ष अघिबाट अनलाइन सूचीकरण पूर्व अनिवार्य आचारसंहिता अभिमुखीकरण कक्षा लिनुपर्ने व्यवस्था गरेको थियो ।

एक वर्षमा ६ सय ७१ अनलाइनका सञ्चालक र सम्पादकले अभिमुखीकरण कक्षा लिएका छन् । शुक्रवारको २२ औँ शृङ्खलामा वरिष्ठ पत्रकार नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष डा। सुरेश आचार्य र काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले विषयगत विज्ञका रूपमा कक्षा लिनुभएको थियो । डा। आचार्यले पत्रकार आचारसंहिताका विषयमा प्रशिक्षण दिनुभएको थियो भने प्रवक्ता खनालले काउन्सिलले जारी गरेका आचारसंहिताअन्तर्गतका विभिन्न सञ्चार निर्देशिकाहरूको महत्त्व र प्रभावकारिताबारे प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको सहजीकरण काउन्सिलका उप प्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले गर्नुभएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ६ : १२ बजे