दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

विराट गोल्डकप : विराटनगर सिटी सेमिफाइनलमा

सुन्दरहरैचा । सातौँ संस्करणको विराट गोल्डकपमा आयोजक विराटनगर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ ।

सहिद रङ्गशालामा भएको खेलमा साबिक विजेता  नेपाल पुलिस क्लबलाई १–० गोलले हराउँदै विराटनगरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 

निर्धारित समयसम्म दुवै टोलीले गोलरहित खेल खेलेका थिए । अतिरिक्त समयमा विराटनगरका आशिष श्रेष्ठले निर्णायक गोल गरेका थिए । दिवाकर चौधरीले दिएको पासको सदुपयोग गर्दै उनले गोल गरेका थिए । श्रेष्ठ सागर थापाको ठाउँमा मैदानमा प्रवेश गरेका थिए ।  

पहिलो हाफसम्म पुलिसले विराटनगरलाई दबाबमा राखेको थियो । प्रहरीले केही उत्कृष्ट अवसर पाए पनि गोल गर्न भने सकेको थिएन । पुलिस क्लबले २०७४ सालमा विराट गोल्डकपको उपाधि हात पारेको थियो । खेलको म्यान अफ द म्याच विराटनगरका उत्सव राई घोषित भए । उनले रु २५ हजार पुरस्कार हात पारे  । 

यही चैत १६ गतेसम्म सञ्चालन हुने गोल्डकपमा नेपाल, भारत र भुटानका गरी आठ टोली सहभागी छन् ।

विजेताले रु २० लाख १५ हजार तथा उपविजेताले रु १० लाख २५ हजार पुरस्कार प्राप्त गर्ने विराटनगर महानगरपालिकाका प्रमुख तथा गोल्डकपका संयोजक नागेश कोइरालाले जानकारी दिनुभयो । 

तत्कालीन राजा महेन्द्र शाहको नामबाट २०१८ सालमा महेन्द्र गोल्डकप सुरु भएको हो । विसं २०५७ देखि सो प्रतियोगिता विराट गोल्डकपका रूपमा सञ्चालन हुँदै आएको छ । 

आज नेपाल आर्मी फुबटवल क्लब र जावलाखेल यूथ क्लबबीच खेल हुने विराट गोल्डकपका सह–संयोजक सुवाशिष कोइरालाले जानकारी दिनुभयो । 

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ७ : ०९ बजे