एमालेको सचिवालय बैठक सुरु

काठमाडौं महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले चैत १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलन-२०७९ सञ्चालन गर्ने भएको छ। 

महानगरले बिहीबार पत्रकार सम्मेलन गर्दै स्थानीय विवाद निरुपणमा न्यायिक समितिले सम्पादन गरेका काम, प्राप्त गरेका सफलता, भोगेका समस्या र चुनौती सम्बन्धी आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको हो। 

महानगरकी उपप्रमुख सुनिता डंगोलले देशभरमा स्थानीय तहका न्यायिक समितिलाई प्राप्त संवैधानिक तथा अन्य कानुनी प्रबन्ध र उपयोगमा समान बुझाई विकास गर्न सम्मेलन आयोजना गर्न लागेको बताउनुभयो। 

उहाँले न्यायिक समितिको राष्ट्रिय सम्मेलन देशभरका न्यायिक समितिले गरिरहेको काम कतव्र्य क्षेत्राधिकार अस्पष्ट भएर अलमलमा परिरहेको तथा धेरै सफलता, भोगेका समस्या र चुनौति सम्बन्धी आदान प्रदान गर्ने मुख्य उद्देश्य रहेको बताउनुभयो। 

उपप्रमुख डंगोलले देशभरमा महानगर, नगरपालिका र गाउँपालिकाका न्यायिक समितिले भोगेका समस्या चुनौतीको आवास बोक्ने प्रयास गर्न लागेको बताउनुभयो। 

उहाँले सम्मेलनमा न्यायिक समितिको अवधारणा,विभिन्न कानुनमा भएका न्यायिक समिति सम्बन्धी व्यवस्था,न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र प्रचलन विषयमा कार्यपत्र प्रश्तुत हुने उल्लेख गर्नुभयो। 

उहाँले सम्मेलनको दुई दिनसम्म छलफल भएका विषयलाई समेटेर विवाद निरुपण काठमाडौं घोषणापत्र जारीसमेत गर्ने जानकारी दिनुभयो। डंगोलले सम्मेलनमार्फत् देशभरमा न्यायिक समितिले गर्ने काममा एकरुपता ल्याउने काम गर्न सहयोग पुग्ने बताउनुभयो।

सम्मेलनमा अहिलेसम्म देशभरका ४५० पालिकाका न्यायिक समितिका संयोजक वा प्रतिनिधि सहभागी हुने निश्चित भएको छ। 

सम्मेलनबाट मेलमिलापका माध्यमबाट समाधान गर्न सकिने विवाद र यसका लागि अपनाउनुपर्ने विधि,मेलमिलाप र निर्णय प्रक्रियाका बारेमा समान बुझाई विकास हुने अपेक्षा गरेको छ। न्यायिक सम्मेलनले न्याय सम्पादनका काम प्रभावकारी हुने, सर्वसाधरणमा न्यायको पहुँच बढ्ने विश्वास लिएको छ। 

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ५ : ४४ बजे