चीनमा भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय फस्टाउँदै

काठमाडौँ – चीनमा भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय फस्टाइरहेको छ ।  

साउथ चाइना मर्निङ पोष्ट समाचार पत्रका अनुसार परिवारका सदस्यका प्रश्नको जवाफ दिन अहिले चीनमा भाडामा गर्लफ्रेन्ड हुने/बनाउने व्यवसाय फस्टाउँदो छ।

त्यसका लागि एउटा वेबसाइट खोलिएको छ, ८९वाइएन.कम। उक्त वेबसाइटमा गएर एक जना चिनियाँ पत्रकारले भाडाकी गर्लफ्रेन्ड बन्ने काम गरिरहेकी एक युवतीसँग भेटेका छन्।

मुमु छद्म नाम भएकी ती युवतीका अनुसार एकदिन गर्लफ्रेन्ड बनेवापत् उनले १४५ अमेरिकी डलर शुल्क लिन्छिन्। यात्रा गरेर कुनै ठाउँ जानु पर्‍यो भने थप शुल्क लाग्छ।

मुमुले पार्ट टाइम कामका रूपमा भाडामा गर्लफ्रेन्ड बन्ने गरेको बताएकी छन्। चिनियाँ नयाँ वर्ष, लामो सार्वजनिक बिदाका बेला गर्लफ्रेन्ड बन्नु पर्ने काम ह्वात्तै बढ्ने उनले बताएकी छन्। त्यतिबेला शुल्क पनि निकै महँगो हुने गर्छ।

चिनियाँ युवाहरूले बिदाका बेला परिवारलाई भेट्न जाँदा गर्लफ्रेन्ड पनि सँगै लिएर गएपछि धेरै प्रश्न झेल्नु पर्दैन भनेर यस्तो उपाय लगाएका हुन्।

यसरी भाडामा गर्लफ्रेन्ड बन्नेहरूले परिवार र आफन्तलाई झुक्याउन नक्कली विवाह पनि गरिदिने गरेको खुलेको छ। ग्रामीण क्षेत्रमा बस्ने एकल पुरुषहरूले आफ्नी पनि प्रेमिका छिन् भन्ने देखाउन भाडाकी गर्लफ्रेन्डलाई बोलाउने गरेका छन्।

चीनमा पछिल्लो समय उमेर पुगेका युवाहरू विवाह नगरी बस्ने प्रवृत्ति व्यापक बनेको छ। एकातिर युवायुवतीहरू स्वेच्छाले विवाह नै नगरी बसिरहेका छन् भने अर्कातिर कतिपय पुरुषले विवाह गर्छु भन्दा विवाह गर्ने महिला पाउन मुस्किल छ।

चीनमा लागु भएको एक सन्तान नीतिले अहिले चीनमा पुरुषभन्दा महिलाको संख्या कम छ।

विवाह गर्न चाहँदा केटी नै नपाइने र गर्लफ्रेन्ड छ भन्ने कुराले परिवारका सदस्यका प्रश्नबाट मुक्तिसँगै सामाजिक रूपमा इज्जत बढ्ने भएपछि भाडामा गर्लफ्रेन्ड बनाउने चलन बढ्दै गएको हो।-एजेन्सी

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ९ : ०८ बजे