स्ववियु निर्वाचन : मौन अवधि सुरु, बिहीबार रातिदेखि प्रचार–प्रसारमा रोक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा बिहीबार रातिदेखि मौन अवधि सुरु भएको छ । 

स्ववियु निर्वाचन आचारसंहिताअनुसार बिहीबार राति १२ः०० बजेदेखि मौन अवधि सुरु भएको हो । 

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले उम्मेदवारले बिहीबारदेखि राति १२ः०० बजेदेखि स्ववियु चुनावको प्रचार–प्रसार गर्न नपाउने बताउनुभयो । उहाँले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द गरिएको जानकारी दिनुभयो । 

यही चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि पाँच दिनको लागि मात्र प्रचार–प्रसारको समय छुट्याइएको थियो । निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवार मनोनयन पत्र दर्ता गरिएको थियो । 

स्ववियु निर्वाचन आचारसंहितामा प्रचार–प्रसार गर्नका लागि रङरोगन र कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने तथा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोष्टर टाँस्न नपाइने उल्लेख गरिएको छ । उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावलीको एफोर साइजको एकै रङ भएको पर्चा मात्र प्रचार–प्रसार गर्न पाइने आचारसंहितामा उल्लेख गरिएको छ । 

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । स्ववियु निर्वाचनका लागि ६२ आङ्गिक र एक हजार ४० क्याम्पसमा एकै साथ यही चैत ५ गते बिहान ८ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म मतदान हुने छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ६ : ३६ बजे