आजदेखि लागु हुने गरी बढ्यो डीडीसीको दूधको मूल्य, उपभोक्तालाई अब ९० देखि १३० रुपैयाँसम्म

काठमाडौँ  । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डीडीसी)ले आजदेखि लागू हुने गरी दूधको मूल्य बढाएको छ । 

संस्थानले आजदेखि लागु हुने गरी उपभोक्ताका लागि सबै ४ प्रकारको दूधको मूल्यमा ११ देखि १६ रुपैयाँसम्म बढाएको हो । निजी डेरी सङ्गठनले यसअघि नै दूधको मूल्य बढाइसकेका छन् ।  

मन्त्रिपरिषद्ले निर्णय अनुसार वृद्धि भएको मूल्यमा संस्थानले किसानबाट दूध खरिद गरिसकेको छ भने आजबाट उपभोक्ताले नयाँ मूल्य अनुसारको दूध पाउनेछन्,’ डीडीसीका महाप्रबन्धक सञ्जीव झाले भन्नुभयो।

उहाँका अनुसार अब स्टान्डर्ड दूध (निलो प्याकेटको) मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेर ९७ रुपैयाँ पुगेको छ । यसअघि सो दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ थियो । 

त्यस्तै, गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएर उपभोक्तालाई प्रतिलिटर ११६ रुपैयाँमा बिक्री गर्नेछ भने चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँमा अब उपभोक्ताले खरिद गर्नुपर्नेछ ।

क्रिमयुक्त दूध (हरियो प्याकेट)को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाइएको छ । जसअनुसार अबदेखि हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १३० रुपैयाँ पर्न जानेछ ।  

सरकारले यसअघि किसानले पाउने दूधको न्यूनतम मूल्य १० रुपैयाँ बढाएको थियो, जसअनुसार किसानले प्रतिलिटर ५६ रुपैयाँ ४० पैसाबाट बढेर ६५ रुपैयाँ ५० पैसा पाउन थालेका थिए ।  

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ७ : २९ बजे