आज समानुपातिक सांसद सिफारिस गर्दै जसपा

काठमाडौँ  । जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसदबारे निर्णय गर्न आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। 

पार्टी कार्यालय, बालकुमारीमा बिहान ११ः०० बजे बस्ने केन्द्रीय कार्यकारिणी समितिको बैठकले यसबारे निर्णय गर्ने जसपाले जनाएको छ । 

समानुपातिकतर्फकी जसपा सांसद शहनाज रहमानको हृदयाघातबाट अघिल्लो साता निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ। सोही  रिक्त स्थानको पदपूर्तिका लागि निर्णय लिन बैठक बोलाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

सो निर्णयसँगै पार्टीको तर्फबाट रिक्त रहेको सांसद पदमा निर्वाचित गराउन जसपाले निर्वाचन आयोगलाई पत्राचार गर्दैछ । जसपाको समानुपातिक तर्फको उम्मेदवारमा मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहनुभएको छ ।  

 

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ६ : ४८ बजे