‘एउटै नाउरको सिकार गर्न २३ लाख’

धनगढीमा विश्व नेपाली नारी साहित्य सम्मेलन हुँदै

धनगढी । धनगढीमा आगामी चैत्र दोस्रो साता विश्व नेपाली नारी साहित्य सम्मेलन हुने भएको छ । 

सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा आगामी चैत्र १० गतेदेखि १३ गतेसम्म चार दिन सम्मेलन हुने भएको हो ।

साहित्य समाजले यसअघि धनगढीमा २०७६ सालमा विश्व नेपाली साहित्य सम्मेलन र २०७८ सालमा नेपाली साहित्य सम्मेलन आयोजना गरिसकेको छ ।

साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयका अनुसार विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भुटान, म्यानमार लगायतका देशहरूबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने छ ।

समारोहमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई सम्मान गरिने छ । अध्यक्ष पाण्डेयका अनुसार साहित्यकार झमकलाई एक लाख ११ हजार रुपैयाँ राशिको बद्री–कृष्णा बाङ्गमय पुरस्कार प्रदान गरिने छ ।

सम्मेलनमा विलक्षण प्रतिभाशाली बालिका प्रिन्सा रेग्मी, स्थापित समाजसेवी अनुराधा कोइराला, मधेसका मुर्धन्य साहित्यकार राजेन्द्र विमल, गजलकार तिलक पेला, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा (अमेरिका) पनि सहभागी हुने छन् ।

अध्यक्ष पाण्डेयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्रमको उद्घाटन गर्ने तय भएको बताउनुभयो। सम्मेलन आयोजनाका लागि मुल आयोजक समितिका साथै डेढ दर्जनभन्दा बढी उपसमितिहरू गठन भएका छन् । सम्मेलनको तयारी तीव्र गतिमा भइरहेको अध्यक्ष पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, ''सम्मेलनमा सञ्चालन गरिने अन्तर संवाद सत्रहरूको टुङ्गो लगाउने काम भइरहेको छ । हरेक दिन सुदूरपश्चिम प्रदेशका विभिन्न समुदाय र क्षेत्रका मौलिक सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने तयारी गरेका छौँ ।''

सम्मेलन आयोजनाका लागि करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ११ : २७ बजे